तालाबन्दीले थलिँदै सुप विश्वविद्यालय

0
Shares

प्राध्यापक र विद्यार्थीद्वारा ६ वर्षमा २ सय १५ दिन तालाबन्दी

हरक सिह धामी

प्रदेश नं. ७ को एक मात्र सुदूरपश्चिम विश्वविद्यालय स्थापना २०६७ सालमा भएको हो। यो विश्वविद्यालयको स्थापना भएपश्चात् यो यस क्षेत्रको शैक्षिक विकास हुने ठूलो अपेक्षा गरिएको थियो। प्रदेश–७ का १५ क्याम्पसलाई आंगिक बनाउन संघीय सरकारले चार वर्षपछि कर्मचारी दरबन्दी स्वीकृति गरेपछि सुप विश्वविद्यालयले गति लिने आशा गरिएको थियो। तर, विश्वविद्यालय सभाको बैठकले विवादित निर्णय गरेपछि पुनः तालाबन्दी र आन्दोलन शुरु भएको छ। मंगलबारसम्म ६ वर्षमा ३७औं पटक भएको तालाबन्दीले २१५ दिन विश्वविद्यालय प्रभावित भएको छ।

२९ पुसमा तत्कालीन प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको विश्वविद्यालय सभा बैठकले जयपृथ्वी क्याम्पस सञ्चालक समितिले ३० असोज, ०७० र अन्य १३ वटा आंगिक क्याम्पसका सञ्चालक समितिले ६ असोज, ०७१ यता गरेका निर्णय कार्यान्वयन नगर्ने निर्णय गरेको थियो। जसले त्यसयता आंगिक क्याम्पसमा कार्यरत कर्मचारी तथा प्राध्यापकहरूले अवकाश पाउनेछन्। सुप विश्वविद्यालय आंगिक क्याम्पस समायोजन संघर्ष समितिका संयोजक मानबहादुर चन्दले भन्नुभयो– ‘यो त कर्मचारीलाई घर पठाउने निर्णय भयो, त्यसैले आन्दोलनमा

उत्रिएका हौं।’
यो निर्णयका विषयमा कुलपति देउवासमेतलाई गुमराहमा राखेको विश्वविद्यालय स्रोतले बताएको छ। सुप विश्वविद्यालय सभाले ३० भदौ ०७० मा जयपृथ्वी क्याम्पस र ५ असोज ०७१ मा कैलाली बहुमुखी क्याम्पससहित १३ क्याम्पसलाई आंगिक बनाउने निर्णय गरेको थियो। सरकारले २ असोजमा सबै आंगिक क्याम्पस सञ्चालनका लागि ४ सय ४४ कर्मचारीको दरबन्दी स्वीकृत गरिसकेको छ। प्राध्यापक, कर्मचारी र विद्यार्थी आन्दोलित विश्वविद्यालयको निर्णयविरुद्ध माघ पहिलो सातादेखि आंगिक क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारी आन्दोलनमा छन्। सोमबारदेखि भने उनीहरूले विश्वविद्यालयको केन्द्रीय कार्यालयमै तालाबन्दी गरेर धर्नामा बसेका छन्। विश्वविद्यालयका पदाधिकारीको गलत निर्णय नसच्चिएसम्म आन्दोलन जारी रहने संघर्ष समितिका संयोजक चन्दले बताए। त्यस्तै २४ माघदेखि सुप विश्वविद्यालयकै प्राध्यापक आन्दोलनमा छन्। कुलपति र रजिस्ट्रार काठमाडौं गएर बसेको, जिम्मेवार नभएको भन्दै सुप विश्वविद्यालय सुधार संघर्ष समितिले आन्दोलन गरेको हो। उनीहरूले ‘गैरजिम्मेवार पदाधिकारी जिम्मेवार बन’ भन्ने ब्यानर नै उपकुलपति र रजिस्ट्रारको कार्यकक्षमा झुन्ड्याएका प्राध्यापकहरूले हातमा कालोपट्टी बाँधेर विरोध जनाए। संघर्ष समितिका अध्यक्ष तथा विश्वविद्यालयका उपप्राध्यापक वीरबहादुरसिंह ठकुरीले भने– ‘पदाधिकारी गैरजिम्मेवार हुँदा विश्वविद्यालय धरापमा पर्दै गएको छ, विश्वविद्यालय जोगाउनका लागि हाम्रो आन्दोलन जारी छ।’ शैक्षिक, प्रशासनिक, व्यवस्थापकीय, भौतिक पूर्वाधार, समाजिक सुरक्षा, आर्थिक प्रशासनिकलगायतका माग राखेर यसअघि ज्ञापनपत्र बुझाएको तर, पदाधिकारीले वास्ता नगरेकाले आन्दोलन गर्नुपरेको उनको भनाइ छ। सुप विश्वविद्यालयको काठमाडौंमा सम्पर्क कार्यालय खोलिएको छ। शुरुआतमा प्रक्रियागत काम गर्न, पाठ्यक्रम बनाउनलगायतका कामका लागि सम्पर्क कार्यालय खोलिएको थियो।

विश्वविद्यालयका पदाधिकारी कामकै लागि राजधानीमा बस्ने गरेको केन्द्रीय क्याम्पसका प्रिन्सिपल डा. भूपेन्द्र विष्टले बताए। डा. विष्टले भने– ‘पाठ्यक्रम बनाउनसहित विश्वविद्यालयकै विभिन्न कामका लागि काठमाडौंमा बसेका हुन्। यत्तिकै बसेका छैनन्।’ विश्वविद्यालयको सुधारका सम्बन्धमा यसअघि विद्यार्थी संगठनसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै विद्यार्थी संगठन पनि आन्दोलनमा उत्रिएका छन्।

आइतबारदेखि अखिल क्रान्तिकारीले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा ताला लगाएको छ। यसअघि, सहमति भएका विषय कार्यान्वयन नहुँदासम्म आन्दोलन जारी रहने क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष वीरेन्द्रराज विष्टले बताए। क्रान्तिकारीले विश्वविद्यालयका सवारीसाधनका चाबीसमेत नियन्त्रणमा लिएको छ। यसअघि पनि विश्वविद्यालयमा पटक–पटक आन्दोलन हुँदै आएका छन्। कहिले अन्य क्याम्पसलाई आंगिक बनाउनुपर्ने त कहिले क्याम्पस समायोजन गर्नुपर्ने माग गरी प्राध्यापक, कर्मचारी र विद्यार्थीले आन्दोलन गर्दै आएका छन्। विश्वविद्यालय स्थापना हुँदा शिद्धनाथ विज्ञान क्याम्पस र शिद्धनाथ बहुमुखी क्याम्पस समायोजन गर्ने सरकारी निर्णय थियो। त्रिभुवन विश्वविद्यालयले सम्पत्ति हस्तान्तरण गर्न नमान्दा विज्ञान क्याम्पस अझै समायोजन हुन सकेको छैन। यसले पनि पटक–पटक आन्दोलन र तालाबन्दी हुँदै आएको छ।

यसरी आन्दोलन र तालाबन्दी मात्र गर्ने हो भने यस क्षेत्रको शैक्षिक विकास नहुने र विश्वविद्यालय धरापमा पर्नेबाहेक कुनै कार्य नहुने देखिन्छ। यस कारण आन्दोलन र तालाबन्दीको विकल्प खोजिनु आवश्यक रहेको छ। सरकार, विश्वविद्यालयका कर्मचारी, विद्यार्थी र सम्पूण सरोकार वालाले विश्वविद्यालयको विकास र गुणस्तरीय शिक्षाका लागि आफ्नो स्वार्थ त्याग गरी लाग्न जरुरी रहेको छ।