दुर्गमको पीडा: बिरामीको ज्यान बचाउन धौ–धौ

0
Shares

धनवीर दाहाल, रुकुम पूर्व

कुम पूर्वको अति विकट बस्ती मैकोट योमाखारकी ३१ वर्षीया लोबै बुढा मगरले अस्पतालको अभावमा उपचार गर्नै नपाई ज्यान गुमाउनुपर्यो। सामान्य बिरामी भएकी बुढालाई स्थानीय शुरूमा धामीझाँक्री र झारफुक गर्नतिर लागे।

निको नभएपछि गाउँमा कुनै पनि स्वास्थ्य संस्था नभएकाले स्थानीय जमघट भएर उनलाई रुकुम पश्चिमको जिल्ला अस्पताल पुर्याउनका लागि स्टेचरको सहायताबाट रुकुमकोटसम्म पुर्याइयो। रुकुममा उपचार सम्भव नभएपछि काठमाडौंमा पुर्याउँदासम्म पनि उनलाई बचाउन नसक्दा यतिबेला आफन्तजनमा पीडा भएको छ।

अझै पनि स्टेचरको सहायता

यो एउटा प्रतिनिधिमूलक घटना मात्र हो। रुकुम पूर्वका विकट गाउँमा स्वास्थ्य संस्थामा स्वास्थ्य जाँच गराउनुपर्छ भन्ने चेतनाको अभाव अहिले पनि रहेको छ। मानिस बिरामी हुनेवित्तिकै धामीझाँक्री गर्ने चलन कायमै छ। यातायातको सुविधा नहुनु र गाउँमा स्वास्थ्य संस्था नहुनेले पीडा खेप्नुपरेको स्थानीय मैत्या घर्तीमगरले बताए। मैकोटकी स्थानीय कुसुम थापाले पनि उपचार गर्न स्टेचरमा लैजाँदै गर्दा आफ्नी देउरानी गुमाएको बताइन्। उनले रन्मा तथा मैकोटमा दुर्गमको कारण अकालमा धेरैले ज्यान गुमाएको बताइन्।

हिमाली जिल्ला रुकुम पूर्वको खामभाषी मगर बस्ती विकट पहाडै पहाडले घेरिएको छ। यहाँ आउने जो कोही पनि अशिक्षा, रोग र भोक तथा विकासको नाममा शून्य पूर्वाधार देखेर आँखा रसाएर फर्किने गरेको घर्ती बताउँछन्। कष्टकर जीवनशैली बिताइरहेका समुदायलाई अलि–अलि ज्वरो आएमा धामीझाँक्रीकोमा पुग्ने परम्परा कायमै छ। स्थानीय घाउ तथा चोटपटक एवं सामान्य ज्वरो धामीझाँक्रीबाट नभएमा मात्र नजिकको स्वास्थ्य संस्थामा बिरामीलाई लैजाने गर्दछन्। रुकुम पश्चिमको जिल्ला अस्पताल एक दिनभरि हिँडेर एक दिनको जिप यात्रापछि मुसिकोटमा रहेको सल्ले अस्पतालमा पुगिन्छ। रुकुम पूर्वमा अझै जिल्ला अस्पताल स्थापनाको सुरसार छैन।

मैकोटको योमाखार निवासी लोबै बुढा मगरलाई युवाहरुले स्टेचरमा डेढ दिन बोकेर एक दिनको जिप यात्रापछि मुसिकोटमा पुर्याई बसमा काठमाडौं पुर्याउँदासम्म ५ दिन बितेको स्थानीय बताउँछन्। काठमाडौंमा पुर्याएर हतार–हतार ललितपुरको बी एन्ड बी अस्पतालमा भर्ना गरे पनि उनलाई बचाउन नसकिएको परिवारको पीडा छ। खाम बस्तीमा राम्रो अस्पताल भएको भए औषधि उपचार गरेर बचाउन सकिने स्थानीय घर्तीले बताए। अस्पतालको अभावमा वर्षाैंदेखिको पीडा खेपिरहेका मैकोटवासीलाई यातायात नपुग्दा समस्या भएको छ। डेढ दिन हिँडेर बिरामीलाई बोक्नुपर्ने अवस्था अन्त्य गरिदिन स्थानीयले माग गरेका छन्।