गायक बराल भैरेका संगीतकार

0
Shares

लोकप्रिय गायक एम बराल अब संगीतकार बनेका छन्। दुई दशकभन्दा अघिदेखि गीत गायनमार्फत लोकप्रियता कमाउँदै आएका गायक बराल निर्माणाधीन फिल्म भैरेबाट संगीतकार भएका हुन्। आधुनिक गीत र टेलिसिरियलमा संगीत दिइसके पनि फिल्मीमा संगीत भने बरालको पहिलो हो। एभरेस्ट सूर्य बोहराको लेखन, निर्देशन र प्रस्तुतिमा निर्माणाधीन भैरेमा रहेका दुवै गीतमा उनले संगीत भरेका छन्। सनम माया लाको बोलको गीतमा उनले संगीत भरेका हुन्।

सनम माया लाकोमा एमका साथमा अञ्जु पन्त तथा अर्को गीत साननानीलाई भेट्न आउँदामा एमका साथमा वसन्त सापकोटा र मेलिना राईले स्वर भरेका छन्। तीन दर्जनभन्दा बढी आधुनिक गीतमा संगीत भरिसकेका एमले विमान चालक नामक टेलिसिरियलका लागि पनि संगीत भरेका थिए। ‘अमेरिकामा हुँदा नै कुरै कुरामा मैले ट्युन बनाएको थिएँ। न्युयोर्कमा हुँदा ट्युनिङ गरेको संगीत साथीहरुले मन पराए।

त्यसमा भैरेका निर्देशक एभरेस्ट बोहोराले शब्द लेख्नुभयो। अनि यो फिल्मको गीत तयार भयो’, एम भन्छन्– ‘संगीतमा अनुभव पनि थियो। फिल्मी संगीतमा केही गरौं भन्ने पनि थियो। त्यसले गर्दा लोकसंगीतलाई बेस मानेर भैरेका लागि संगीत सिर्जना गरेको छु। दर्शक स्रोताले मन पराउनुहुनेछ भन्ने विश्वास गरेको छु।’ आधुनिक तथा फिल्मी गीत गरी १२ सयभन्दा बढी गीत गाइसकेका बरालका बादलुको घुम्टोले, निष्ठुरीले छोडेर गइहाली, अब चोटहरुले पिरोल्दैन मलाई, हेर हेर पूर्वबाट झुल्किएछ घाम, माया बस्यो मुटुमा दर्जनौं आधुनिक तथा फिल्मी गीत लोकप्रिय छन्।

फिल्मका निर्देशक एभरेस्ट सूर्य बोहराले भैरेको गीत आगामी फागुन २१ गते सार्वजनिक गर्ने जानकारी गराए। आगामी जेठ १८ गते अल नेपाल रिलिज हुने फिल्मको अहिले सम्पादन र अन्य प्राविधिक कार्य भइरहेको छ। नेपालय सिनेमा इन्टरनेसनल प्रालिको ब्यानरमा प्रेमप्रसाद पौडेल र देवीमाया अधिकारी निर्माता, लेखबहादुर पुन कार्यकारी निर्माता तथा करणाकर घिमिरे र गायक तथा संगीतकार एम बराल सहनिर्माता रहेको फिल्ममा गीत निर्देशक बोहरा, संगीत एम बराल र वसन्त सापकोटा, नृत्य वसन्त श्रेष्ठ र कविराज गहतरा, द्वन्द्व सूर्य थोकर, छायांकन पुरुषोत्तम प्रधान, सम्पादन बनिष शाह र निर्माण नियन्त्रण विक्रम पण्डितको रहेको छ।

अपर मुस्ताङ, जोमसोम, स्याङ्जा र पोखरामा छायांकन गरिएको फिल्ममा दयाहाङ राई, सुरक्षा पन्त, विक्रान्त बस्नेत, बुद्धि तामाङ, वर्षा शिवाकोटी, सविता गुरुङ, सुनिथ गापा, जाह्नवी बोहरा, अनुभव रेग्मी, अर्जुन गुरुङ, लेखबहादुर पुन, समेश श्रेष्ठ, सयाहाङ राई, कञ्चन ठकुरी र शूरवीर पण्डित प्रमुख कलाकार रहेका छन्।