एमालेबाट को–को बन्दै छन् मन्त्री ?



नेपाल समाचारपत्र
काठमाडौं
सत्तारूढ दल नेकपा एमालेभित्र मन्त्री बन्नेको दौड शुरू भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट दुई जनालाई मात्र मन्त्री बनाउनुभएको छ। एमाले र नेकपा माओवादी केन्द्रबीच भएको भद्र सहमतिअनुसार एमालेले नौवटा मन्त्रालय लिनेछ।

सरकारले हाल प्रस्तावित भएको मन्त्रालयको संख्या बढाउने गृहकार्य गरेको छ। सरकारले कतिको संख्यामा मन्त्रालय बनाउने भन्ने गृहकार्य गरिरहेको छ भने एमालेभित्र मन्त्री बन्नका लागि दौडधुप पनि शुरू भएको छ। एमालेभित्र मन्त्री बन्नका लागि दुई दर्जनभन्दा बढी सांसदहरू आकांक्षी देखिएका छन्। मन्त्री बनाउनका लागि मापदण्ड तय गर्नका लागि एमालेले आन्तरिक गृहकार्य पनि गरिरहेको एमालेका एक नेताले बताए। उनले भने– ‘पार्टीमा सबैको भूमिका र योगदान छ, तर पनि मापदण्ड बनाएर नै मन्त्री छनोट गर्ने गृहकार्य भइरहेको छ।’

प्रधानमन्त्री ओलीले मधेसीबाट लालबाबु पण्डितलाई जनसंख्या तथा वातावरण मन्त्री र थममाया थापालाई महिला मन्त्री बनाइसक्नुभएको छ। अब मन्त्री छनोट गर्दा प्रदेश जातीय प्रतिनिधित्वलाई मुख्य आधार बनाएर मन्त्री छनोट गर्ने गृहकार्य भइरहेको बताइएको छ।

एमालेले सरकारको नेतृत्व गरेको हुनाले अर्थलगायतका महत्वपूर्ण मन्त्रालय लिने भएको छ। एमालेबाट उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल धनश्याम भुसाल, सचिवत्रय प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, योगेश भट्टराई, केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठलगायतको नाम चर्चामा रहेको छ। मन्त्री बनाउदा सातवटै प्रदेशबाट एक÷एक जना अनिवार्यरूपमा समावेश बनाउने नीति एमालेले लिएको छ। एमालेभित्र पदाधिकारीमा वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालबाहेक सबैले मन्त्री बन्ने आकांक्षा देखाएका छन्। त्यसैगरी मन्त्री बन्नका लागि सुरेन्द्र पाण्डे, शेरबहादुर तामाङ, रवीन्द्र अधिकारी, पद्मा अर्यालको नाम पनि चर्चामा रहेका छन्।

एमालेबाट ईश्वर पोखरेल र प्रदीप ज्ञवालीलाई प्रधानमन्त्री चयन भएकै दिन शपथ गराउने तयारी भए पनि माओवादी केन्द्र्रले नाम नदिँदा स्थगित भएको थियो। एमालेबाट केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल मन्त्री बन्ने पक्कापक्की भएको छ। प्रदेश नम्बर तीनको मुख्य मन्त्रीका प्रतिस्पर्धी अष्टलक्ष्मी शाक्य पराजित भएपछि उपत्यकाबाट नेवार समुदायको प्रतिनिधित्व हुने गरी श्रेष्ठलाई मन्त्री बनाउने तयारी भएको एक नेताले बताए।

उनले भने– ‘उपत्यकाबाट कृष्णगोपाल श्रेष्ठलाई मन्त्री बनाउने विषयमा पार्टीभित्र मोटामोटी सहमति जुटिसकेको छ।’ स्थानीय विकास राज्यमन्त्री भएर यसअघि विकास निर्माणको काममा प्रभावकारी भूमिका निर्वाह गरेका श्रेष्ठलाई मन्त्री बनाउने विषयमा पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीसमेत सकारात्मक रहेको बताइएको छ। माओवादी केन्द्रसँग मन्त्रालयको भागबण्डा मिले लगत्तै एमालेले मन्त्री छनोट गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्