केन्द्र सार्ने आन्दोलनः वार न पार

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
पर्साको उत्तरी ठोरी गाउँपालिकामा सेवा केन्द्र सार्ने विषयलाई लिएर शुरु गरिएको आन्दोलन जारी रहँदा स्थानीयहरु भने मारमा परेका छन् ।

वडा नम्बर ५ सुवर्णपुरका आन्दोलनकारीहरुएक तर्फ आक्रोशित बन्दै गइरहेका छन भने अर्को तर्फ ठोरीको वडा नम्बर ३ का स्थानीयहरु पनि आक्रोशित बनेका छन् । सुवर्णपुरवासीले बन्दको अवज्ञा गरेको भन्दै उनीहरुले नेवा आयल स्टोरका सन्चालक समसाद आलमको ना ४८ प ४६०० नम्बरको मोटरसाइकलमा आगजनी गरेका हुन् । आगजनीबाट मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको छ ।

आयल स्टोर बिजय बस्तिबाट पेट्रोलको ट्यांकर स्कर्टिङ गरेर फर्किदै गर्दा आन्दोलनकारीहरुले मोटरसाइकलमा तोडफोड गरी आगजनी गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।गाउँपालिकाको वडा नम्बर ५ सुवर्णपुरले सेवा केन्द्र सार्न नहुने अडान राखेको छ भने वडा नम्बर ३ मा मध्यभागमा सेवा केन्द्र हुनुपर्ने माग उठेको छ । एकपटक सुवर्णपुरबासीसँग वार्ता भएपनि समस्या समाधान हुन सकेको छैन ।

यी दुवै वडामा संघर्ष समिति नै गठन गरेर यातायात बजार बन्द, प्रदर्शन लगायतका आन्दोलन चलिरहेको छ । गत माघ १५ गते ठोरी गाउँपालिकाको प्रथम गाउँ परिषदले वडा नम्बर ५ सुवर्णपुरमा रहेको सेवा केन्द्र वडा नम्बर ४ घ्याङडाँडामा सार्ने निर्णय गरेपछि सुवर्णपुरवासी माघ १६ गतेदेखि नै आन्दोलनमा छन् ।गउँपालिकाका अध्यक्ष पि.एल.श्रेष्ठले भने जनताको चाहना अनुसार सेवाकेन्द्र सारिएको जिकिर गरेका छन् ।