हँगेरी, जनताको नाम सरकारले जुराउने देश



पुष्करलाल श्रेष्ठ

यसभन्दा अघिका युरोप भ्रमणसम्बन्धी लेखहरूमा युरोपका अधिकांश देशमा त्यहाँका जनताले शिक्षा र स्वास्थ्यको निःशुल्क सुविधा पाउने कुरा त पढ्नुभएकै होला, तर जनताको नामसमेत देशले नै जुराइदिने कुराचाहिँ पक्कै पनि पढ्नुभएको छैन होला। हो, मध्ययुरोपकै हँगेरी नामको देशमा जनताको नामसमेत देशले नै जुराइदिने कुरा थाहा पाएपछि यो स्तम्भकारलाई पनि अचम्म लागेको थियो।

हँगेरीमा जन्मने नागरिकले हामीकहाँ जस्तो आफूखुसी नाम राख्न पाइँदो रहेनछ। जन्मने एक–एक नागरिक खोज्दै नाम राख्न जाने कुरा पनि आएन। त्यसैले देशले नै केही निश्चित नामहरू तोकेर राखेको हुँदो रहेछ। यसरी देशले तोकेर राखेका नामहरूभन्दा बाहिर गएर कसैले पनि आफ्नो बच्चाको नाम राख्न नसकिने हँगेरी एउटा संसारकै अचम्मको देश रहेको कुरा त्यहीँ पुगेपछि मात्र थाहा पाइयो।

अस्ट्रिया, युक्रेन, रोमानिया, सर्विया, क्रोएसिया, स्लोभेनिया र स्लोभाकियाले घेरिएको यस्तो अचम्मको देश ९३ हजार ३० वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ। अस्ट्रिया–हँगेरीको नाममा यो देश पहिले निकै ठूलो रहेछ। तर, प्रथम विश्वयुद्धमा नराम्ररी हारेपछि यसले झन्डै ७१ प्रतिशत आफ्नो भूभाग गुमाउनुपरेको थियो। यसरी आफ्नो धेरै भूभाग गुमाउनुपरेको पीडामा दोस्रो विश्वयुद्धमा हिटलरसँग मिलेर युद्धमा होमिन पुगेको हँगेरी यस युद्धमा पनि हार खानुपरेपछि लामो समयसम्म तत्कालीन सोभियत संघको कठपुतली भएर बस्न विवश हुनुपरेको थियो।

हँगेरीको सिजिनी राष्ट्रिय पुस्तकालय।

प्रथम विश्वयुद्धमा हारेपछि धेरै भूभागसँगै ५८ प्रतिशत हँगेरियन जनतासमेत गुमाउनुपरेको थियो। यसरी धेरै जनता गुमेपछि अहिले हँगेरी मात्र १ करोड जनतामा सीमित भएको छ। दोस्रो विश्वयुद्ध हारेपछि चार दशकसम्म सोभियत संघको मातहतमा रहेको हँगेरी लामो समयको शान्तिपूर्ण आन्दोलनपश्चात् सन् १९८९ मा मात्र स्वतन्त्र राष्ट्र बन्न सफल भएको थियो। हँगेरी स्वतन्त्र भएको एक वर्षपछि मात्र सोभियत संघले त्यहाँ रहेका आफ्ना १ लाख सैनिकलाई फिर्ता लगेको थियो। सोभियत संघले छोडेलगत्तै २३ अक्टोबर १९८९ मा हँगेरीलाई संसदीय व्यवस्थासहितको प्रजातान्त्रिक देश घोषणा गरिएको थियो।

नेपालमा प्रजातन्त्रको पुनःस्थापना भएकै वर्ष सन् १९८९ मा प्रजातान्त्रिक मुलुक बनेको हँगेरी त्यहाँका त्यागी र दूरदर्शी नेताका कारण अहिले यो मुलुक संसारकै ४०औं धनी बन्न सफल भएको छ। यहाँको जीडीबीअनुसार हँगेरी अहिले संसारकै ५८औं ठूलो अर्थतन्त्र भएको देश हो। यो मुलुक अहिले संसारको ३५औं ठूलो निर्यातकर्ता र ३४औं ठूलो आयातकर्ता पनि हो। हँगेरीका जनताले शिक्षा र स्वास्थ्यको सुविधा सहज तथा निःशुल्करूपमा उपभोग गर्छन्। यहाँ शिक्षा र स्वास्थ्यका लागि डा. गोविन्द केसीले जस्तो अनशन बसिरहनुपर्दैन।

हामी नेपालीले मद्यपान गर्ने बहानामा छिनछिनमा दुईवटा गिलास समातेर चियर्स गरेजस्तो हँगेरीमा पुगेर यसो गरियो भने तपाईं नराम्ररी फस्न सक्नुहुन्छ। यसो गरेबापत तपाईंलाई कुनै जरिवाना नगरे पनि उनीहरूले तपाईंलाई आफ्ना अगाडि असभ्य मानिस उभिएको जस्तै व्यवहार गर्छन्। यसरी चियर्स गरेको हँगेरियनलाई बिल्कुलै मन नपर्ने कुरा पनि त्यहीँ पुगेर थाहा पाइयो।

प्रजातन्त्र स्थापना भएको २८ वर्षभित्र यो मुलुकले गरेको विकासका कारण हँगेरियनहरू अहिले संसारकै २०औं सुखी जीवनस्तर जिउने भाग्यमानी जनता बनेका छन्। यो संसारकै १५औं शान्त र सुरक्षित देश भएकाले यहाँ बर्सेनि करोडौं पर्यटक ओइरिने गर्छन्। सन् २०१५ मा ४ करोड पर्यटकले हँगेरीको भ्रमण गरेको तथ्यांक देखेपछि आफ्नो देशको स्थिति सम्झेर रुनै मन लाग्यो।

हँगेरीलाई दाँतको पर्यटकीय देश पनि भनिँदो रहेछ। यो मुलुकका दन्तचिकित्सक संसारकै अब्बल मानिन्छन्। तुलनात्मकरूपमा अन्य युरोपेली राष्ट्रभन्दा यहाँ स्तरीय र कम खर्चमा दाँतको उपचार हुने भएकाले प्रायः अधिकांश युरोपियन दाँतको उपचार गराउन हँगेरी आउने गर्दा रहेछन्। हँगेरी धेरै पर्यटक पुग्ने संसारकै ११औं देश हो।

नेपालकै जस्तो राजनीतिक प्रणाली भएको हँगेरी १९ राज्य मिलेर बनेको छ। यहाँ राष्ट्रपति मुलुकको प्रमुख भए पनि प्रधानमन्त्री नै सर्वेसर्वा हुन्छन्। बहुमतीय प्रणालीमा संसद्बाटै चुनिने प्रधानमन्त्रीमै मुलुकको कार्यकारी अधिकार निहित हुन्छ। सन् १९८९ मा कम्युनिस्टको अन्त्य भएपछि अहिले हँगेरीमा फिडेल नामको कन्जर्वेटिभ, लेफ्ट विङ्ग हँगेरियन र नेसनलिस्ट आयोविक नामको तीन राजनीतिक पार्टी अस्तित्वमा रहेको देखियो। हाल फिडेल कन्जर्वेटिभ पार्टीले बहुमत हासिल गरी सत्ता चलाइरहेको छ।

धेरै देशसँग राम्रो कूटनीटिक सम्बन्ध राख्न सफल भएका कारण अहिले हँगेरीको राजधानी बुडापेस्टमा विश्वका १ सयभन्दा बढी देशका राजदूतावास देख्न सकिन्छ। सोभियत संघको लामो दबाबमा बस्नुपरेकाले होला, अहिले हँगेरी पश्चिमेली मुलकहरू र अमेरिकासँग नजिक रहेको देखिन्छ। त्यसैले यहाँ आईएलओ, हाई कमिसन रिफ्युजी, इन्टरनेसनल रेडक्रसजस्ता संसारका ठूला–ठूला मुख्यालय रहेका छन्। हँगेरी सन् २००४ मा युरोपियन युनियनको सदस्यता लिँदै सन् २००७ मा सिन्जेनमा सहभागी भएको थियो। त्यसै गरी हँगेरी संयुक्त राष्ट्रसंघ, नेटो, विश्व बैंक र काउन्सिल अफ युरोपको पनि सदस्य हो।

धेरैलाई थाहा नहुन सक्छ, पत्रकारिताका पिता मानिने अखबार ‘सेन्ट लुइस पोस्ट डिस्प्याच’ र ‘दि न्युयोर्क वल्र्ड’ प्रकाशित गर्ने जोसेफ पुलिट्जरको जन्म पनि हँगेरीमै भएको थियो। हँगेरीको माको भन्ने ठाउँमा सन् १८४७ अप्रिल १० तारिखका दिन जन्मेका पुलिट्जरको सेना बन्ने सपना साकार हुन नसकेपछि उनी हँगेरी छोडेर सन् १८६४ मा अमेरिकाको बोस्टनमा बसाइँ सरेका थिए।

कला, संस्कृति, संगीत, खेलकुद, प्रविधि र विज्ञान क्षेत्रमा समेत कहलिएको यो देशले थुप्रै विद्वान् जन्माएको छ। यति सानो मुलुकका विद्वान्ले विज्ञान र प्रविधिमा मात्र १३ वटा नोबेल पुरस्कार जितिसकेका छन् भन्दा हामीजस्ता नकारात्मक र अनुत्पादक सोच भएका नेपालीलाई पत्याउनै गाह्रो पर्छ। धेरैलाई थाहा नहुन सक्छ, पत्रकारिताका पिता मानिने अखबार ‘सेन्ट लुइस पोस्ट डिस्प्याच’ र ‘दि न्युयोर्क वल्र्ड’ प्रकाशित गर्ने जोसेफ पुलिट्जरको जन्म पनि हँगेरीमै भएको थियो। हँगेरीको माको भन्ने ठाउँमा सन् १८४७ अप्रिल १० तारिखका दिन जन्मेका पुलिट्जरको सेना बन्ने सपना साकार हुन नसकेपछि उनी हँगेरी छोडेर सन् १८६४ मा अमेरिकाको बोस्टनमा बसाइँ सरेका थिए। अमेरिकाको कोलोम्बोमा पुलिट्जरले संसारकै पहिलो पत्रकारिताको स्कुल खोलेका थिए। सन् १९०८ मा खोलेको ‘दि मिजोरी स्कुल अफ जर्नालिजम’ स्कुलमा अमेरिकी सरकारको निम्तोमा केही समय यस लेखकले पनि अध्ययन गर्ने अवसर प्राप्त गरेको थियो।

पुलिट्जरले अमेरिकामा स्थापना गरेको पत्रकारितासम्बन्धी संसारकै पहिलो स्कुल ‘दि मिजोरी स्कुल अफ जर्नालिजम’ स्कुलमा लेखक।

खेलकुदमा समेत अब्बल यो मुलुकका खेलाडीले अहिलेसम्म ४ सय ९७ वटा ओलम्पिक पदक जितिसकेका छन्। हँगेरीपछि धेरै ओलम्पिक पदक जित्ने संसारमा अरू जम्मा ७ वटा मात्र मुलुक छन्। वाटरपोलोमा त हँगेरीलाई जित्न सक्ने विरलै देश होलान् जस्तो लाग्छ। ओलम्पिकको वाटरपोलोमा हँगेरीका खेलाडीले जस्तो अरू कुनै मुलुकका खेलाडीले पदक जित्न सकेका छैनन्। यसरी ओलम्पिक खेलमा एक किसिमले दादागिरी नै गर्दै आएको हँगेरी आफैंले ओलम्पिक खेलको आयोजना गर्ने लामो प्रयासलाई भने सार्थक बनाउन सकिरहेको छैन। हँगेरीको सन् १९१६, १९२०, १९३६, १९४४ र १९६० मा ओलम्पिक खेलको आयोजना गर्ने प्रयास व्यर्थ भइसकेको छ भने सन् २०२४ का लागि समर ओलम्पिकको आयोजना गर्ने सपनालाई पनि फ्रान्सले चकनाचुर पारिदिएको छ।

हँगेरी आफ्नै फर्मुला वन ट्रइक भएको सम्पन्न देश हो। चेस खेलमा पनि हँगेरियन च्याम्पियन छन्। यहाँका चेस खेलाडी विश्वकै १०औं अब्बल श्रेणीमा पर्छन्। यहाँका चेस खेलाडी फ्रान्स र बेलायतका भन्दा राम्ररी चेस खेल्छन्। सन् १९३८, १९५४ र १९६४ मा गरी तीनपटक विश्वकप फुटबलमा उपविजेता बन्न सफल हँगेरीले फुटबलमै तीनवटा ओलम्पिक मेडल पनि जितिसकेको छ। संसारकै सबैभन्दा नामुद संगीतकार हेरी हुडिनी हँगेरियन नै हुन् भन्ने कुरा पनि धेरैलाई थाहा नहुन सक्छ।

जोसेफ पुलिट्जर र उनको पत्रिका ‘दि न्युयोर्क वल्र्ड’।

लगभग शतप्रतिशत साक्षर भएको हँगेरीको मुख्य आयआर्जन खाद्यान्न, औषधि, अटोमोबाइल, आईटी, केमिकल्स, मेटल्स, मेसिनरी इलेक्ट्रिकल, विभिन्न वस्तुको उत्पादन र पर्यटनबाट हुने गरेको छ। विद्युतीय उत्पादनमा हँगेरी मध्य र पूर्वी युरोपकै सबैभन्दा ठूलो देश हो। हँगेरी उद्योगमा २९.७ प्रतिशत, नोकरीमा ६३.३ प्रतिशत र कृषिमा ७.१ प्रतिशतमा निर्भर हुने देश हो। ८० प्रतिशत अर्थतन्त्र निजी क्षेत्रको हातमा रहेको हँगेरीमा झन्डै ४० प्रतिशत कर तिर्नुपर्ने भए पनि जनताबाट उठेको कर जनताकै हित र विकासमा लगानी गर्ने राज्यको नीतिले गर्दा यहाँका जनता करको दर चर्को भए पनि खुसीराजीले कर तिर्न मन पराउँछन्।

देशको सबै कुरा व्यवस्थित र पारदर्शीरूपमा चल्ने भएकाले हँगेरीमा विदेशका ठूला–ठूला कम्पनी लगानी गर्न उत्साहित हुने रहेछन्। सन् २०१५ मा मात्र हँगेरीमा सय बिलियन डलरभन्दा बढी विदेशी लगानी भित्रिएको रहेछ। हँगेरीले देशबाहिर पनि बर्सेनि ५० बिलियन डलरभन्दा बढी लगानी गर्ने गरेको छ। हँगेरीको जर्मनी, अस्ट्रिया, रोमानिया, स्लोभाकिया, फ्रान्स, इटली, पोल्यान्ड र चेक गणतन्त्रसँग असाध्यै राम्रो आर्थिक सम्बन्ध भएको पाइयो।

सन् १८९६ मै भूमिगत रेल सञ्चालनमा आइसकेको हँगेरीको राजधानी बुडापेस्टको भूमिगत रेलसेवालाई संसारकै दोस्रो पुरानो भूमिगत रेलसेवा मानिन्छ। सानो मुलुक भएर पनि पाँचवटा अन्तर्राष्ट्रिय विमानस्थलको सुविधा भएको देश हँगेरीको सडक र सामुद्रिक यातायातको सुविधालाई संसारभरले प्रशंसा गर्ने गरेका छन्। १३ सय १४ किलोमिटर आरामदायी पिच सडकमा गाडी गुडाउन यहाँ युरोपका धेरै देशबाट व्यावसायिक गाडी चालकहरू आउने गरेका छन्।

हँगेरीको सांसद भवन अगाडि लेखक श्रीमती राजेश्वरी श्रेष्ठसँग।

हँगेरियन पुरुषको सरदर आयु ७१ र महिलाको ७९ वर्ष भए पनि यहाँका धेरै मान्छे हृदयाघात र क्यान्सरले मर्ने भएकाले यहाँ धूमपानलाई लगभग निषेधजस्तै गरिएको देखिन्छ। हँगेरीको कुनै पनि सार्वजनिक ठाउँमा धूमपान गर्न पाइँदैन। हुन पनि जतिसुकै सफा भए पनि युरोपका अन्य शहरमा जस्तो यहाँ चुरोटका ठुटाहरू जथाभावी फालिएको देखिँदैन। चुरोटमा निकै चर्को कर राखिएको हँगेरीमा सरकारी पसलमा बाहेक अन्यत्र चुरोट किन्न पाइँदैन।

हामी नेपालीले मद्यपान गर्ने बहानामा छिनछिनमा दुईवटा गिलास समातेर चियर्स गरेजस्तो हँगेरीमा पुगेर यसो गरियो भने तपाईं नराम्ररी फस्न सक्नुहुन्छ। यसो गरेबापत तपाईंलाई कुनै जरिवाना नगरे पनि उनीहरूले तपाईंलाई आफ्ना अगाडि असभ्य मानिस उभिएको जस्तै व्यवहार गर्छन्। यसरी चियर्स गरेको हँगेरियनलाई बिल्कुलै मन नपर्ने कुरा पनि त्यहीँ पुगेर थाहा पाइयो।

मौसमको हिसाबले धेरै उत्तारचढाव देखिने हँगेरीमा सरदर ९.७ डिग्री सेल्सियस तापक्रम भए पनि २० जुलाई २००७ मा यहाँको तापक्रम बढेर ४१ डिग्रीसम्म पुगेको रहेछ। त्यसै गरी १६ पे्रmब्रुअरी १९४० मा तापक्रम घटेर माइनस ३५ डिग्री पुगेबाट पनि यहाँको मौसममा कति उत्तारचढाव आउने रहेछ भन्ने कुरा थाहा पाउन सकिन्छ। लगभग ५० प्रतिशत विदेशमा बस्ने हँगेरियनहरू जर्मनीका तानाशाह हिटलरको हाहामा लागेर हँगेरीमा बसोबास गरिरहेका ५ लाख ५० हजार यहुदीलाई जबर्जस्ती जर्मनी पलायन गरेर मार्न लगाएकोमा अहिले पनि पश्चात्ताप गरिरहेका भेटिन्छन्।

राजधानी बुडापेस्टको सुन्दर फिसरम्यान्स् बास्चियन।

हँगेरीको राजधानी बुडापेस्टपछि यो देशमा हेर्नलायक अन्य शहर डरब्रेक्यान, सिजेड र मिसकोललाई पहिलो प्राथमिकतामा राख्दा हुन्छ। हँगेरीमा बसोबास गर्दै आइरहनुभएका गैरआवासीय नेपाली नारायण भण्डारीका अनुसार हाल हँगेरीमा अध्ययन गरिरहेका विद्यार्थीसमेत करिब ७० जना नेपाली बसोबास गर्छन्।

हँगेरी भ्रमण गर्नुअघि यस देशका लागि अवैतनिक महावाणिज्यदूत प्रसिद्ध उद्योगपति अरुण चौधरीसँग सल्लाह लिएर जान सके अझै भ्रमण सहज र उपयोगी हुने लेखकको सल्लाह छ। महावाणिज्यदूत चौधरीका अनुसार सन् २००९ देखि २०१६ सम्म नेपालबाट ३० लाख डलर बराबरको वस्तु निर्यात र हँगेरीबाट ४८ लाख डलर बराबरको वस्तु आयात भएको छ।

प्रतिक्रिया दिनुहोस्