गाउँभन्दा सहरमा बस्नेको कपाल किन धेरै झर्छ ?



सहरियाले कपालको बढी स्याहार गर्छन्, अनेक साबुन र स्याम्पु लगाउँछन्, विद्युतीय उपकरण प्रयोग गरेर सुन्दर बनाउँछन्, अनि उनीहरूकै कपाल चाहिँ किन छिटो झर्छ ? किन छिट्टै तालु खुइले हुन्छन् ? संसारभर नै सहरका मानिसको कपाल छिट्टै विरूप भएर झरेको पाइन्छ र युवा पुस्तालाई पनि कपाल झर्ने समस्याले चिन्तित बनाएको पाइन्छ ।

मेडिसिटी अस्पतालका वरिष्ठ छाला रोग तथा कपाल विशेषज्ञ डा.सञ्जु बाबु श्रेष्ठका अनुसार सहरका मानिसले कपालको स्याहार गर्ने तरिका गलत भएका कारण कपाल झरेर पातलो हुँदै जाने र छिट्टै तालु खुइले भएर उपचारको लागि भौँतारिने गरेको पाइएको छ।

उहाँका अनुसार अध्ययन गरिएर बनाइएका सुरक्षित स्याम्पुहरूले कपाललाई बचाउँछ तर अनावश्यक रसायन मिसाइएका सस्ता साबुन र स्याम्पु लगाएर जति धेरै कपाल धोइन्छ उति कमजोर हुँदै जान्छ। कपाललाई सुन्दर बनाउनरंगहरू प्रयोग गर्ने, हाइलाइट गर्ने गर्नाले पनि कपाल छिट्टै कमजोर हुन्छ, टुक्रिन्छ र झर्छ।

कपाल छिटो सुकाउन, हेयर ड्रायरको प्रयोग गर्ने, तौलियाले कपाल रगड्ने गर्दा पनि कपाल कमजोर हुन्छ । हेयर ड्रायर प्रयोग गरेर कसैले कपाललाई कर्ली बनाउँछन्, कसैले स्टेट बनाउँछन्, कसैले पर्मिङ गर्छन् । सुन्दर कपाल बनाउने नाममा गरिने यी सबै कार्यले छिट्टै तालु खुइले हुन भूमिका खेल्छ।

उहाँले भन्नुभयो– ‘कपाल स्टेट गर्दा, कर्ली गर्दा दिइने तातोपना, तातो पानीले नुहाउने कार्य पनि हानिकारक नै हो । कपाल प्रोटिनले बन्ने हो, तातोले प्रोटिनको प्राकृतिकपन र मजबुतपनलाई खल्बल्याउँछ र कपाल कमजोर हुन्छ । साथै कडा ब्यायाम वा जिम गर्दा पुरुष हर्मोन (टेस्टोस्टेरोन) हाइ हुन्छ र यो हर्मोन हाइ हुँदा पनि कपाल झरेको हालैका रिसर्चहरूबाट पाइएका छन् ।’

कपाल झरेर चिन्तित भएकाहरूको उपचार तथा कपाल प्रत्यारोपण कार्यसमेत गर्दै आउनुभएका कपाल विशेषज्ञ डा. श्रेष्ठले अहिले सोसियल मिडियाका कारण पनि विशेषगरी सहरिया बासिन्दाको कपाल बढी झरेर तालु खुइलेपन वृद्धि भएको अनुभव सुनाउनुभयो।

विशेष गरी अहिले सोसियल मिडियामा ‘मैले यो औषधि, जडिबुटी वा स्याम्पु प्रयोग गरेका कारण कपाल राम्ररी आयो’ भनेर पोस्ट गर्ने गरेको र अरूले पनि त्यसकै सिको गर्नाले झन् बढी कपाल झरेर अतालिँदै उपचारका लागि आउने घटना धेरै पाइएको उहाँले बताउनुभयो।

सहरको प्रदूषित वायुमा भारी मात्रामा धुलो, हानिकारक तत्वहरू, सिसा, धुवाँ, निकेल र अरू विषाक्त वस्तुहरू हुन्छन् जसले अरू स्वास्थ्यका साथै कपाललाई पनि गम्भीर हानि पु¥याउँछ । वायुका विषाक्त पदार्थ श्वासमार्फत् रगतमा गएर कपालको वृद्धिमा पनि अवरोध गर्छ।

एक अध्ययनअनुसार वायुको गुणस्तर ज्यादै खराब भएको स्थानका ७० प्रतिशतसम्म मानिसको कपालमा असर गरेको छ। प्रदूषणले कपालको चाया पनि बढाउँछ, जुन कपाल झर्नुको एक प्रमुख कारण हो । तनावले पनि कपाल झर्छ । हाइपोथाइरोइजमले पनि पुरुष तथा महिलाको कपाल झर्न सहयोग गर्छ। यस्तैगरी बढी मोटोपनले थाइरोक्सिन र इन्सुलिनको उत्पादन कम हुन जान्छ । यस प्रकारको हर्मोनल असन्तुलन पनि  कपाल झर्नुको अप्रत्यक्ष कारण बन्न जान्छ । धुम्रपानले शरीरमा रक्त सञ्चार गर्न अवरोध सिर्जना गरिदिन्छ, कपाल स्वस्थ रहनका लागि सधैँ स्वस्थ रगतको आवश्यकता पर्छ। रक्तसञ्चार राम्रो नहुँदा स्वस्थ र बलियो कपाल उत्पादन हुँदैन र तालुखुइले पनि सिर्जना हुन्छ।

अस्वस्थ खाना, प्रोटिन कम भएका, भिटामिन, मिनरल्सर अरू पोषणयुक्त खानाको अभावमा पनि कपाल झर्ने समस्या हुन्छ। तौल घटाउन गरिने डायटिङ पनि उपयुक्त नहुँदा पोषणको अभाव भई कपाल झर्छ। त्यस्तै, एन्टिक्यान्सर औषधिहरू, स्टेरोइड औषधिको प्रयोगले पनि कपाल झरेको पाइन्छ ।

कपाल झर्नुको अर्को सबैभन्दा ठूलो कारण त सहरिया मानिसमा जंकफुड र फास्टफुड खाने प्रवृत्ति बढेकोले पनि हो, जुन गाउँको जस्तो पोषणयुक्त हुँदैन। जंकफुडमा खानालाई लामो समय सुरक्षित राख्नरासायनिक प्रिजर्भेटिभ्स राखिएका हुन्छन् जुन कपालका लागि पनि खानाहरू हानिकारक हुन्छन्।

धेरैले रुचाउने चाउमिनको कुरा गर्ने हो भने यसमा मनोसोडियम ग्लुटामेट (एमएसजी) राखिएको धरै राखिन्छ । यसले कपाललाई मात्र होइन दिमागलाई पनि धेरै हानि गर्छ। बजारमा बेचिने फलफूल तरकारीमा विषादि धेरै राखिएको पाइन्छ, जुन कपालका लागि ज्यादै हानिकारक छन्।

डा. श्रेष्ठले भन्नुभयो– ‘चाउचाउको पाकेटभित्र राखिएको सानो पाकेट पनि हानिकारक रसायनयुक्त वस्तु एमएसजी नै हो, जसको कारण हामीले स्वादिलो मानेर चाउचाउ खान्छौँ। यसले कपाललाई मात्र होइन, हाम्रो सम्पूर्ण स्वास्थ्यलाई नै खराब गरिरहेको छ।’

कपाल बचाउने उपाय

कपाललाई बचाउन सकेसम्म तातोभन्दा चिसोपना बढी भएको पानीले नुहाउनु नै फाइदाजनक हो। कपाल नुहाउनेबित्तिकै कोर्ने झड्कार्ने, रुमालले रगड्ने गर्नुहुन्न। हेयर ड्रायरको सकेसम्म प्रयोग गर्नुहुन्न। साबुनभन्दा राम्रो खालको स्याम्पु नै कपाललाई उपयुक्त हो तर सल्फेड फ्रि स्याम्पु हुनुपर्छ।

वंशानुगत कारणले कपाल झर्न सक्छ। यसका लागि शुरूदेखि नै उपचार गर्न सकिन्छ। कपाल झर्न नदिन र झरेको उपचार गर्ने र अन्त्यमा कपाल ट्रान्सप्लान्ट गर्ने उपायहरू छन्।

कपाल महिलाहरूको त गहना नै हो । झर्ने प्रवृत्ति देखियो भने बेलैमा उपचार गर्नुपर्छ। पौष्टिक आहार खाने, धुम्रपान नगर्ने गर्नुपर्छ। प्रोटिनको कमी हुने गरी डाइटिङ गर्नु हुँदैन। कपाल झर्ने समस्याले युवा पुस्ता मानसिक तनाव झेल्न बाध्य भएको डा. श्रेष्ठले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्