मर्नुअघि मानिसले कस्तो पछुताउ गर्छन् ?



काठमाडौं  ।

मानिस जब केही दिनमै मर्दैछु भन्ने अनुभूति गर्न थाल्छ अनि पछुताउ र पीडा बोध गर्न थाल्छ, किन ? जीवनमा धेरै मिहिनेत गरेर, ढाँटेर, छलेर भए पनि धन, प्रतिष्ठा कमाउँछ तर जब मृत्यु सामुन्ने उभिएको देख्न थाल्छ अनि आफ्नै कर्मप्रति आत्माग्लानी हुन थाल्छ भने जीवनको सार्थकता के भयो त ?

मृत्यु जीवनको शाश्वत सत्य हो, यसबारे बेलाबेलामा सोच्नु सामान्य हो । तर मृत्युको बारेमा सधैँ सोच्नु असहज र डरलाग्दो हुन्छ । यसो गर्नु आफूलाई मृत्युतिर धकेल्नु हो । त्यसैले पनि यस्तो सोचलाई रोक्नु पर्छ । ढिलो चाँडो मानिसले एक दिन त मर्नै पर्छ, तर कसरी र कहिले त्यो निश्चित हुँदैन ।

कसैकसैलाई मृत्युको अन्तिम सीमातिर आफ्नो मृत्यु बोध हुन्छ भने कसैलाई केही हप्ताअघि । क्यान्सरलगायत कडा दीर्घ रोग लागेर उपचार गर्दागर्दै जब डाक्टरले पनि हात उठाउँछन् अनि बिरामी आर्थिक, भौतिक र मानसिक रूपले निरासा, पीडा र पछुताउ बोकेर मृत्युको पर्खाइमा बस्न बाध्य हुन्छन् । यस बेला बिरामीलाई आफ्ना प्रियजनलाई हेर्न पनि कठिन भइरहेको हुन्छ, परिवारको पीडा पनि कहालीलाग्दो हुन्छ ।
यस्तो अवस्थामा बिरामीको पीडा र मृत्युलाई सहज बनाउन र आफन्तहरूको भावनालाई स्थिर बनाउनका लागि प्यालेटिभ केयरको व्यवस्था गरिएको हुन्छ, नेपालमा पनि छ ।

मर्नुअघि यस्ता खाले पछुताउ हुन सक्छन्
–मैले मेरो जीवन अरूको चाहनाअनुसार नभई मेरो जीवनको वास्तविकताका आधारमा जिउने साहस गर्नुपथ्र्यो ।
–मैले जीवन जिउनका लागि त्यति धेरै कडा मिहिनेत नगरेको भए पनि हुने रहेछ ।
–मैले आफ्ना भावनाहरू व्यक्त गर्ने साहस गर्नुपथ्र्यो ।
–म मेरा साथीहरूको सम्पर्कमा रहनुपथ्र्यो ।
–मैले आफूलाई खुसी राख्न प्राथमिकता दिनुपथ्र्यो ।

अस्टे«लियाको यस्तै केयर सेन्टरमा करिब आठ वर्ष बिरामीको हेरचाह गरेकी नर्स ब्रोनी वेयरले मृत्युको संघारमा पुगेका बेलाका बिरामीका भावनात्मक कुरा समेटेर एक पुस्तक (द टप फाइभ रिग्रेट्स अफ डाइङ) लेख्नुभएको छ । त्यसमध्ये उहाँले हेरचाह गरेका अधिकांश बिरामीले भनेका मुख्यतः पाँचवटा साझा बुँदाको व्याख्या गर्नुभएको छ । करिब तीन हप्तादेखि १२ हप्तासम्म जीवन बाँकी रहेका बिरामीहरूको हेरचाह गर्दा उनीहरूले व्यक्त गरेका भावना र भोग्नु परेका पीडा देखर ब्रोनी आफैँ पनि डिप्रेसनबाट पीडित हुनुभएको थियो ।

तर, पृथ्वीमा अन्तिम पाइला हिँडिरहेका बेला यस्ता चेतहरू खुल्नुले थप पीडा दिनुबाहेक कुनै अर्थ राख्दैन । बरू जीवनको लामो यात्रा बाँकी रहेकाहरूले यसबारे सोचविचार गरे त्यसको सार्थकता हुनसक्ला । उपचारबाट पार नलाग्ने भई रोगको पीडामा छटपटिएकाहरूको मृत्युलाई सहज बनाउन २०५७ सालदेखि केही सहयोगी मनहरूको दान र स्वयंसेवाबाट लगनखेलमा स्थापित ‘हस्पिस नेपाल’मा स्थापना कालदेखि सेवा दिँदै आउनु भएका सो सेन्टरका इन्जार्च गणेश कोइरालाको अनुभवमा पनि अन्तिम अवस्थाका बिरामीहरूको भावना पछुताउपूर्ण नै हुन्छ । उहाँ भन्नुहुन्छ– ‘मैल जीवनमा धेरै मिहिनेत गरेर कमाउनतिर लागेँ, समाज र साथीभाइसँग धेरै घुलमिल हुन समय दिन सकिनँ, धेरै खुसी भएर जीवन बाँच्न सकिनँ, आखिर जीवनको अन्त्यमा पीडैपीडा लिएर खालीहात जानु पर्ने रहेछ, भुलभुलैयामा नै जीवन गयो’ भनेर पछुताउ गर्नु हुन्छ धेरैले ।’

एक जना बिरामीले जव आफू मर्छु, अब बाँच्ने कुनै उपाय छैन भन्ने थाहा पाएपछि आफूलाई भनेको कुरा सम्झँदै कोइरालाले भन्नुभयो– ‘बाबु यो संसार झुटा रहेछ, म भ्रममै बाँचेछु, अरूले दूध किनेर खाँदा मैले पानी मिसाएको दूध खाएँ, अरूले दही खाँदा मैले मही खाएँ, एक किलो मासु किन्नुपर्दा लोभ गरेर आधा किलोमै काम चलाएको थिएँ, तर यसरी लोभ गरीगरी सम्पत्ति जोगाएर आखिरी मैले के पाएँ त ? जति खर्च गर्छु भन्दा पनि डाक्टरले अब बचाउन सक्दिन भने, पीडाको भारी बोकेर आखिरी खाली हात जानु पर्ने रहेछ ।’

मृत्युका अन्तिम घडीमा सुनाउने अरूका भावना पनि प्रायः यस्तै हुन्छन् । एक जनाले भनेका थिए– ‘मैले अरूसँग रिस राग गरेँ, घमण्ड गरेँ, अहंता गरे नगरेको भए पनि हुने रहेछ ! किन गरेँछु ? म त मरेर जान्छु तर उसले जीवनभर मैरै बारेमा कुरा गरेर चित्त दुखाउला भनेर अहिले आत्माग्लानी भइरहेको छ ।’ ‘मैले पनि कसैलाई पीडा दिएर दुःख दिएर कमाएँ होला, खुसी प्राप्त गरेँ होला, त्यसकै सजाय आज दैवले मलाई दिए भन्नेहरू पनि पाएँ ।’ प्यालेटिभ केयरमा रहेका बिरामीहरूका केही अनुभव इन्चार्ज कोइरालाले सुनाउनुभयो ।

कोइराला भन्नुहुन्छ– ‘मृत्युसम्मुख उभिइसकेका बिरामीहरूले अन्तिम अवस्थामा आफूप्रति आश्रित मानिसहरूप्रति बढी चिन्तित भएको पाएँ । बाबुआमा भए छोराछोरीको बारेमा धेरै चिन्ता गर्ने र छोराछोरी भए मेरो दाइ वा भाइ एक अर्का वा बाबु आमासँग रिस गथ्र्यो, झगडा गथ्र्यो भविष्यमा के अवस्था हुन्छ भन्ने चिन्ता गरेको पाएँ । आफ्ने बारेमा चाहिँ ‘डा साव म मर्छु भन्ने थाहा छ मलाई, मर्ने बेलामा अझ कष्ट हुन्छ कि ? सास फेर्न गाह्रो हुन्छ कि ? यसबाट मलाई मुक्त गर्ने उपाय केही छ कि छैन’ भनेर धेरैले जिज्ञासा राख्छन् ।

हस्पिस नेपालले दशवटा बेडमार्फत् बिरामी र कुरुवाका लागि समेत निःशुल्क सेवा दिइरहेको छ भने औषधिबाहेक होमकेयर सेवा पनि दिइरहेको छ ।‘यहाँ आउनेहरू उपचारमा धेरै खर्च गरेर धन र मन गुमाएकाहरू हुन्छन् । धेरै खर्च गरेर पनि उपचार नभएपछि आउने बुझेका  मानिसहरू ‘ल यस्तो ठाउँ रहेछ, यस्तो सुविधाजनक ठाउँमा म पहिले किन आइनँ’ भन्ने पनि हुन्छन् ।

हाम्रो उद्देश्य बिरामीलाई मात्र नभई सम्बन्धित परिवारको समेत पीडा कम गर्न प्रयास गर्ने हो । बिरामीहरू अन्तिम अवस्था पुग्दा हामीलाई पनि पीडा हुन्छ । बिरामीका बाँकी रहेका दिनहरू अति न्युन खर्चमा पीडा कम गराउने, सास फेर्न सहज बनाउने, बान्ता भए कम गराउने, पेट फुलेको भए कम गराउने, दुर्गन्धित भएको घाउको व्यवस्थापन गर्ने काम प्यालेटिभ केयरमा पर्छ । पहिला क्यान्सरको मात्र बिरामी राखिने गरेकोमा अहिले मस्तिष्कघात भएका बिरामीलाई पनि राखिन्छ ।’

मृत्युको संघारमा पुगेका बिरामीहरूको भावनाहरूको अध्ययन गर्दा कडा मिहिनेत गरेर वा फट्याईं गरेर सम्पत्ति आर्जन गर्नु, जीवनलाई अनावश्यक दुःख दिनुभन्दा आफ्ना चाहनाअनुरूप खुसीका साथ सहज जीवन जीउन प्रेरित गर्छ । मृत्युको अन्तिम घण्टी बजेपछि पछुताउ गर्नुभन्दा आफ्नो खराब र गलत जीवनशैलीलाई सुधारेर जीवन जिउन सिकाउँछ । भोलि को कसरी मर्छ थाहा छैन, तर मृत्युको अन्तिम अवस्था कसैको पनि यातनापूर्ण नहोस् भन्ने उद्देश्य राखेर यस्ता प्यालेटिभ केयर सेन्टरहरूको स्थापना र सञ्चालनमा सहयोग गर्न स्वयं प्रेरित हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्