दुर्घटना न्यूनीकरण गर्ने ‘कन्भेक्स मिरर’को सुरक्षा भएन



पर्वत । पोखरा बागलुङ राजमार्ग अन्तरगत पर्वतखण्डमा राखिएका ‘कन्भेक्स मिरर’ (ऐना) को सुरक्षा चुनौती देखिएको छ । दुर्घटना न्यूनीकरणका लागि भनेर जडान गरिएका ऐना अहिले जडान गरेको एक महिना नवित्दै चोरी हुन थालेका छन् भने केही ऐनामा अहिले धुलोले ढाकेर सवारी नै नदेखिने बनेको छ ।

कात्तिकको अन्त्य तिर सडक डिभिजन कार्यालय बागलुङको सहयोग तथा जिल्ला ट्राफिक कार्यालय पर्वतको सहकार्यमा पोखरा बागलुङ राजमार्गको पर्वत खण्ड सँगै मालढुंगा बेनी सडकमा समेत गरी ३० वटा ऐना जडान गरिएको थियो । जडान गरिएका ऐनामध्ये २ वटा ऐना चोरिएका छन् । ऐना जडान गरिएपछि यस क्षेत्रमा दुर्घटनामा पनि कमी आएको थियो ।

लाखौं रुपैयाँ खर्चेर जुन उद्देश्यका साथ ऐना जडान गरेपनि अहिले सुरक्षाको अभावमा औचित्यहिन बन्दै गएका छन् । सुरक्षा गर्ने जिम्मेवारी आम नागरिक सँगै यात्रु र सवारी चालकहरुको भएको बताउँदै त्यसतर्फ सडक डिभिजन कार्यालयले पनि प्रहरीलाई सुरक्षाका लागि अनुरोध गर्ने डिभिजन कार्यालय बागलुङका प्रमुख थानेश्वर खत्रीले जानकारी दिनुभयो ।

यता जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले भने ऐनाको सुरक्षाका लागि कार्यालयले पहल गरिरहेको बताएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख महेन्द्र रानाभाटले पर्वत क्षेत्रमा पर्ने सडक खण्डमा राखिएका ऐना सुरक्षाको लागि आफुहरु लागिपरेको र रातीको समयमा चोरी हुने गरेकाले त्यसलाई नियन्त्रण गर्न सवैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्