एसईई परीक्षा अब प्रदेशबाट



ईश्वरराज ढकाल, काठमाडौं

सरकारले अर्को वर्षदेखि कक्षा १० उत्तीर्ण परीक्षा (एसईई) परीक्षा प्रदेशस्तरबाट गर्ने निर्णय गरेको छ। शिक्षा मन्त्रालयमा हालै बसेको बैठकले सो निर्णय गरेको हो।

राष्ट्रिय परीक्षा बोर्डले उक्त परीक्षा सञ्चालन गर्ने भएको छ। शिक्षा ऐन २०२८ को नवौं संशोधनमा एसईई परीक्षा प्रदेशस्तरबाट सञ्चालन गर्ने उल्लेख भएपछि मन्त्रालयले सो निर्णय गरेको हो। मन्त्रालयका सूचना अधिकारी सरस्वती पोखरेलले प्रदेशस्तरबाट एसईई परीक्षा सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘यो वर्ष केन्द्रीय र आगामी वर्षबाट प्रदेशस्तरमा परीक्षा सञ्चालन गर्ने निर्णय भएको हो।’

मन्त्रालयले सातै प्रदेशबाट परीक्षा सञ्चालन गरे पनि परीक्षाफल भने एकैपटक प्रकाशित हुनेछ। परीक्षाको प्रश्नपत्र प्रदेशअनुसार फरक फरक हुनेछ। परीक्षाको मितिसमेत एउटै हुने मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले २०७५ सालदेखि एसईई परीक्षा प्रदेशबाट सञ्चालन गर्नुको विकल्प नभएको बताउनुभयो।

उहाँले अब सो परीक्षाको व्यवस्थापन राष्ट्रिय परीक्षा बोर्डबाट हुने जानकारी दिनुभयो। एसईईलगायतको परीक्षालाई व्यवस्थित गर्न राष्ट्रिय परीक्षा बोर्डले सातवटै प्रदेशमा प्रदेश कार्यालय खोल्ने भएको छ। हाल प्रदेश नम्बर ६ को सुर्खेतबाहेक सबै प्रदेशमा कार्यालय सञ्चालनमा आएका छन्। बोर्डका सदस्य–सचिव दुर्गा अर्यालले सुर्खेतमा प्रदेश कार्यालय स्थापनाका लागि गृहकार्य शुरू भइसकेको जानकारी दिनुभयो। बोर्डको हालै बसेको बैठकले सुर्खेतमा प्रदेश कार्यालय खोल्ने निर्णय गरी सहमतिका लागि मन्त्रालयमा पेस गरेको जानकारी गराउनुभयो।

बोर्डअन्तर्गत हाल देशैभर ११ वटा कार्यालय रहेका छन्। उहाँका अनुसार प्रदेश नम्बर २ मा दुई, ३ मा २, ५ मा ३ र ७ नम्बर प्रदेशमा २ वटा सम्पर्क कार्यालय रहेको जानकारी दिनुभयो। आगामी वर्षदेखि एसईई परीक्षा सञ्चालन गर्ने तयारी थालिएको बताउँदै सदस्यसचिव अर्यालले भन्नुभयो– ‘यसका लागि बोर्डले समिति गठन गरिसकेको छ। समितिको प्रतिवेदनको आधारमा थप काम अघि बढाउनेछ।’ बोर्डको अधिकार क्षेत्रभित्र पर्ने सबै परीक्षा सञ्चालन गर्न प्रदेश कार्यालय स्थापना गर्न लागिएको उहाँले बताउनुभयो।

बोर्डअन्तर्गत हाल काठमाडौं, हेटौंडा, विराटनगर, जनकपुर, पोखरा, बुटवल, धनगढी, नेपालगन्ज, दाङ, डडेल्धुरा र लाहानमा कार्यालय रहेका छन्। बोर्डले १० दिनअघि प्रदेश कार्यालय स्थापना गर्न स्वीकृत माग गर्दै मन्त्रालयमा पत्र पठाएको थियो।

बोर्डको प्रदेश नम्बर १ को राजधानी विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को बुटवल र ७ को धनगढीमा प्रदेश कार्यालय रहेका छन्। ६ को प्रदेश राजधानी सुर्खेतमा कार्यालय स्थापना गर्ने तयारी गरेको बोर्डले मन्त्रालयको सहमति पर्खिरहेको छ।

प्रदेशमा कार्यालय स्थापना भएपछि केही कर्मचारीको अभाव हुने बोर्डले जनाएको छ। कक्षा १० को एसईई, ११ र १२ को परीक्षा सञ्चालन गर्नुपर्ने भएकाले जनशक्तिको अभाव हुनसक्ने सदस्य–सचिव अर्यालले बताउनुभयो। उहाँले यो विषयमा समेत समिति गठन गरी अध्ययन भइरहेको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्