मुगुको हेल्थपोस्टका लागि हेल्प नेपालले गर्यो १७ लाख सहयोग


हेल्प नेपाल नेटवर्क यूकेले मुगु जिल्लाको मुर्मामा स्थापित ‘हेल्प नेपाल हेल्थ पोस्ट’ सञ्चालनका लागि झण्डै १७ लाख रुपियाँ सहयोग गरेको छ। सन् २००४ मा विकट मुगु जिल्लामा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले स्थापना गरिएको सो स्वास्थ्य चौकीमा अहिले एक जना हेल्थ असिस्टेन्ट, एक अहेव, एक अनमी तथा एक सहायक कार्यरत छन्। उनीहरूको तलब, भत्ता, स्वास्थ्य चौकीका लागि आवश्यक औषधि समेतका लागि झण्डै १७ लाख बराबरको सहयोग पठाइएको हेल्प नेपाल नेटवर्क यूकेका कोषाध्यक्ष सचिन श्रेष्ठले बताउनुभयो। उक्त स्वास्थ्य चौकीको सञ्चालनका लागि स्कटल्यान्डस्थित एभरेस्ट म्याराथन फन्डलगायतका संघ–संस्थाले सघाउँदै आएका छन्।

हेल्प नेपाल नेटवर्कका अनुसार गत जुलाई २०१६ देखि जुलाई २०१७ को अवधिमा सो स्वास्थ्य चौकीले मुर्मा र वरिपरिका रारा, पिना, सेरी, गाम्ठालगायत ७ वटा विकट गाविसका ४ हजार १ सय ७६ जनालाई स्वास्थ्य उपचार सेवा प्रदान गरेको थियो।
सो अवधिमा स्वास्थ्य चौकीबाट ग्यास्ट्रिक, झाडापखाला, रुघाखोकी, जरोबाट पीडित बिरामीको उपचार गरिएको थियो। त्यस्तै उक्त स्वास्थ्य चौकीले विभिन्न खोप लगाउनुका साथै गर्भवती महिलाको स्वास्थ्य परीक्षण तथा सुत्केरी सेवा पनि उपलब्ध गराएको थियो।
यसै गरी सो स्वास्थ्य चौकीले तीन वटा स्थानीय विद्यालयमा स्वास्थ्य शिक्षा कार्यक्रम पनि सञ्चालन गरेको थियो।

हेल्प नेपाल नेटवर्कले नेपालमा भूकम्पबाट क्षतिग्रस्त विद्यालयको पुनर्निर्माणमा सघाउनुका साथै तराईमा बाढीपीडित जनसमुदायलाई आपत्कालीन सहायता पनि पुर्याउँदै आएको हेल्प नेपालका निर्देशक अरूण सिंह बस्नेतले जानकारी गराउनुभयो।