चित्रमार्फत् ८२ वर्षीय कलाकार शर्माको सन्देश

0
Shares

हेटौंडा, (नेस)। कला मनका भावना पोख्न मात्र हुँदैन। समाजका यथार्थ झल्काउने गतिलो आधार पनि हुन सक्छ।

मकवानपुरमा पछिल्लो समयमा युवा पुस्ताले चित्रकलाप्रति त्यति चासो दिएको देखिँदैन। १५ वर्ष छँदा समाजको परिवेश झल्कने गरी बनाएको चित्रको उचित मूल्यांकन गर्दै पहिलोपटक उनलाई नेपालगन्जमा भेरी साहित्य समाजले सम्मान गरेको थियो।

नेपालगन्जमा जन्मिएका भूपेन्द्रप्रकाश शर्मा हालसम्म चित्रकलामै व्यस्त छन्। परिवारविहीन बनेर हेटौंडाको रातोमाटेस्थित दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक आश्रमस्थलमा बस्दै आएका प्रकाशको दिनचर्या चित्र बनाएर बित्ने गरेको छ।

उनले आश्रममा आफूले कोरेका करिब दुई दर्जन चित्र गत शनिबार प्रदर्शन गरे। आश्रमको सभाहलमा राखिएका हरेक चित्रमा रंगको सौन्दर्यसँगै कुनै न कुनै यथार्थता झल्काएको देखिन्थ्यो। उनका कलामा व्यक्तिगत स्वार्थका निम्ति अरूलाई दुःखको समुद्रमा धकेल्ने, आफ्ना सेवकलाई कुल्चेर कुर्सीमा बस्ने जस्ता विकृति अभिव्यक्त भएका देखिन्छन्। भगवान्का अवतार, पर्यावरण, महिला हिंसा, नेपालको चिनारीलगायतका विषयमा उनले चित्रमार्फत सन्देश दिएका छन्।

हेटौंडा उप–महानगरपालिका–१५, चुरियामाईमा रहेको ज्येष्ठ नागरिक आश्रयस्थल दिव्य सेवा निकेतनमा उनका चित्रकला प्रदर्शनसहित उनलाई सम्मान गरिएको छ। ८२ वर्षका शर्माका दुई दर्जन चित्र प्रदर्शन गरिएको हो। चित्रकला प्रदर्शनीमा प्रमुख अतिथि तथा पूर्वमन्त्री मुकुन्द न्यौपानेले ८२ वर्षको वृद्ध उमेरमा पनि शर्माको कलाप्रतिको मोह सम्मान गर्न लायक रहेको चर्चा गरे। शर्मा एक वर्षदेखि निकेतनमा आश्रय लिइरहेका छन्। उनले आफूले रचना गरेका कवितासमेत वाचन गरेर सुनाएका थिए।

निकेतन अध्यक्ष टीआर निरौलाको सभाध्यक्षतामा भएको कार्यक्रममा निकेतनका प्रमुख सल्लाहकार केदार न्यौपानेले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देल, वडा नम्बर ७ का राजन थापा, साहित्यकारहरू अमर गिरी, निमेश निखिललगायतको आतिथ्यता थियो।