वीरगन्जमा फेरि बन्दकै राजनीति

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।

प्रदेश नम्बर २ को राजधानी माग गर्दै आइतबार वीरगन्ज बन्द गरिएको छ । बन्दका कारण वीरगन्ज क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

आन्दोलनारीहरु केही सवारी साधनमा तोडफोड गरेका छन् ।सरकारले प्रदेश २ को अस्थायी राजधानी धनुषाको जनकपुरधाम तोकेको छ । जनकपुरधाममा प्रदेशसभाको पहिलो बैठक बसेको दिन नै वीरगन्ज प्रादेशिक राजधानी हुनुपर्ने माग राखेर बन्द आह्वान गरिएको हो ।

बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले घण्टाघर र आदर्शनगर क्षेत्रमा सवारी साधनमा तोडफोड गरेका छन् । बन्दकर्ताहरुले विआर ०५ पीए ३०४० नम्बरको भारतीय गाडी र नम्बर नखुलेका दुईवटा निजी कारमा तोडफोड गरेका हुन् । बिहानैदेखि सडक अवरुद्ध पारेका छन् । ठाउँठाउँमा टायर बालेर प्रदर्शन गरिएको छ ।

आन्दनोलन संघर्ष समितिका सहसंयोजक राजकुमार गुप्ताको नेतृत्वमा रहेका बन्दकर्ताहरुले वीरगञ्जको घण्टाघर, माईस्थान, आदर्शनगर, मुर्लीचोक, प्रतिमा चोक, बहुअरी लगायत क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका छन् । लामो तथा छोटो दुरीका सवारी साधनसँगै बजार, शैक्षिक संस्था र कलकारखाना ठप्प छन् ।बन्दका क्रममा एम्बुलेन्स, दमकल लगायत अत्यावश्यक सवारी साधन भने सञ्चालन हुन दिइएको छ । मोटरसाइकल, रिक्सा पनि सञ्चालनमा छन् ।

यसअघि संघर्ष समितिले सरकारले जनकपुरलाई अस्थायी राजधानी घोषणा गरेको भोलिपल्ट अर्थात माघ ४ गते पनि बन्द आह्वान गरेको थियो ।शान्तिपूर्ण आन्दोलनलाई सरकारले नसुनेका कारण बन्द गर्नुपरेको संघर्ष समितिको दाबी छ।

यद्यवी वीरको राजधानीका कारण वीरगन्ज थप धरासायी बन्दै गरेको भन्दै बन्दको बिकल्प खोज्न नागरिक स्तरबाट आग्रह गरिएको छ । करिब दुई बर्ष अगाडिको लगातारको मधेश बन्दका कारण सबैभन्दा बढी मारमा परेको वीरगन्ज फेरि एक पटक अर्को बाहना तर बन्दको राजनीतिको चुपुवामा परेको हो ।