बन्यजन्तुको हड्डी र छाला भारत तर्फ तस्करी, प्रहरी प्रशासन रमिते

0
Shares

उत्तम नेपाल, भद्रपुर । झापा र इलामको वनजंगलमा रहेका वनजन्युको शिकार गरी हड्डी र छाला दक्षिणी झापाको सीमाना नाकाबाट भारत तस्करी भइरहेको पाइएको छ ।

झापाको खुल्ला सीमानाबाट भारततर्फ वन्यजन्तुको हड्डी तथा छाला तस्करी गिरोहमा आवद्ध दुई जना भारतीयलाइ भारतीय एसएसबीले पक्राउ गरेपछि तस्करी हुने गरेको पुष्टि भएको हो । पक्राउ पर्नेमा किशनगञ्ज जिल्ला कोचाधामन, तेघरिया कन्हैयाबाड़ी निवासी २५ बर्षीय मोहम्मद मोइन र ४० बर्षीय बिष्णु रजक रहेको भारतीय एसएसबी १२ बी बटालियनका डिप्टी कमाण्डर कुमार सुन्दरमले जानकारी दिए ।

एसएसबीले उनीहरुको साथबाट आठ वटा हरिणको सिंङ् समेत फेला पारेको छ । जसको अन्तराष्ट्रिय बजार मुल्य नेपाली दुई करोड रहेको जनाइएको छ । झापा गाँउपालिकासंग जोडिएको भारतको दिघलबैंक नाकाबाट भित्राइएको हरिणको सिंङ्लाई किशनगञ्जतर्फ लैजाने क्रममा बिशेष सूराकीको आधारमा एसएसबीको टोलीले किशनगञ्ज–बहादुरगञ्ज सडक खण्डबाट शुक्रवार पक्राउ गरेको थियो ।

मोटरसाइकलमा सवार उनीहरुले हरिणको सिंङ्लाई बोरामा हालेर लगिरहेका थिए । पक्राउ परेका दुवै जनाले हरिणको सिङ नेपालबाट ल्याएको एसएसबीलाई बताएका छन् । झापा गाँउपालिकाको सीमानामा सशस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ छन् । वन्यजन्तुको तस्करी बढेपनि यसतर्फ उनिहरुले चासो देखाएका छैनन ।

भारतको विहार राज्यसंग जोडिएको झापा जिल्लाबाट वन्यजन्तुको हड्डी तथा छाला तस्करी गर्ने गिरोह सक्रिय रहेपनि झापा प्रहरी, प्रशासन बेखबर रहेको घट्नाले प्रमाणित गरेको छ ।
वन्यजन्तुको हड्डी तथा छाला तस्करीको बिषयमा आफूलाई थाहा नभएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाका एसपी रमेश सुवेदीले बताए । यस बारेमा सीमामा रहेका विओपीका इञ्जार्चसंग तत्काल जानकारी लिने बताए । भारतीय एसएसबीले पक्राउ गरेको बिषयमा अनुसंन्धान गरी सीमामा सक्रियता बढाइने उनले जनाए ।

दक्षिणी झापाका नाकाबाट जनावरको हड्डी तथा छाला तस्करी हुने बारेमा आफू अनविज्ञ रहेको प्रहरी कार्यालय झापाका डिएसपी एवं प्रवक्ता जितेन्द्रकुमार बस्नेतले बताए । यस बिषयमा अनुसंन्धान गरी सीमामा प्रहरी सक्रियता बढाउँने उनले आश्वासन दिएका छन् । यस अघि दक्षिणी नाका टाघनडुब्बा, घेराबारी, कुमरखोद, लगायतको क्षेत्रबाट पशुपंक्षिको प्वाख समेत भारतबाट नेपालतर्फ तस्करी हुदै आएको थियो ।