मुख्यमन्त्रीको कार्यालय स्थापना

0
Shares

रोशन पराजुली, हेटौंडा

प्रदेश नम्बर–३ को अस्थायी राजधानी हेटौंडामा मुख्यमन्त्री तथा प्रदेश मन्त्रिपरिषद् कार्यालय स्थापना गरी शुक्रबारदेखि कार्यालय सञ्चालनमा आएको छ। कार्यालय भवनको तेस्रो तलामा प्रमुख सचिवको कार्यकक्ष बनाइएको छ।

प्रदेश सरकारका प्रमुख सचिवमा मध्यक्षेत्रीय कार्यालयका प्रशासक रेश्मीराज पाण्डेले मुख्यमन्त्रीको कार्यालयमा प्रमुख सचिवमा पदबहाली गर्नुभएको छ। पदबहालीपश्चात् उहाँले सरकारी कार्यालयका प्रमुखहरूले तत्काल कार्यालय व्यवस्थापनमा सहयोग गर्न आग्रहसमेत गर्नुभएको थियो।

उहाँले माघ २७ गते प्रदेशसभा बैठकले मुख्यमन्त्री चयन गर्ने र त्यसपछि सबै मन्त्रालय सञ्चालनमा आउने बताउनुभयो। पाण्डेले प्रदेश नम्बर–३ लाई नमुना प्रदेश बनाउने दाबी गर्नुभयो। उहाँले प्रदेशमा रहेका सबै कर्मचारीलाई चुस्तदुरुस्त भएर काम गर्न निर्देशन दिनुभयो।

प्रदेशसभा प्रक्रियामा गएपछि बजेट व्यवस्थापन अर्थ मन्त्रालयमार्फत हुने भएको छ। क्षेत्रीय प्रशासन कार्यालय पनि मुख्यमन्त्रीको कार्यालयमा नै सरेर आएको छ।

प्रदेश सरकारमा मुख्यमन्त्री र मन्त्रीहरू आउनुअघि मन्त्रालय संरचना खडा भइसक्ने पाण्डेले बताउनुभयो। प्रदेश सरकारका ७ वटा मन्त्रालयका लागि भवन व्यवस्था भइसकेको छ। श्रम कार्यालयको नयाँ भवनमा ३ वटा मन्त्रालय रहनेछन् भने घरेलु र स्वास्थ्य निर्देशनालयमा बाँकी मन्त्रालय रहनेछन्। प्रदेशमा सातवटा मन्त्रालय स्थापना हुने भए पनि शुक्रबार एउटा मन्त्रालय कार्यालयमा बोर्ड झुन्ड्याइएको छ। जिल्ला शिक्षा कार्यालय मकवानपुरको भवनमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय स्थापना गरिएको हो।

शिक्षा कार्यालय भने अगुवा स्रोत केन्द्रमा सरेको छ।
सामान्य प्रशासन मन्त्रालयले प्रदेश सरकार र प्रदेश संसद्का लागि खटाएका कर्मचारी हेटौंडा नआएका कारण समस्या भएको छ। संसद् बैठक शुरू भइसकेको अवस्थामा एक जनाबाहेक सामान्यले खटाएका कर्मचारी आएका छैनन्। प्रदेश सरकारका लागि खटाएका कर्मचारी पनि काठमाडौंबाट हेटौंडा आइसकेका छैनन्।

पहिलेको क्षेत्रीय र जिल्लास्तरका कार्यालय भवन प्रयोग गर्दै मन्त्रालय तत्काल भाडाको घरमा बस्नुनपर्ने गरी सरकारी कार्यालयमा राख्ने तयारी गरिएको छ। जिल्लास्तरका सरकारी कार्यालयलाई भाडाको घरमा लैजाने र ती कार्यालयमा मन्त्रालयहरू राख्ने गरी तयारी थालिएको छ। प्रदेशस्तरीय मन्त्रालय सरकारी कार्यालयमा रहने भएपछि केही सरकारी कार्यालय भाडाको घरमा सर्नुपर्ने भएको छ।
प्रदेशस्तरीय मन्त्रालयहरू राख्ने भवनसँगै मुख्यमन्त्री, मन्त्रीहरू र सचिवलगायत कर्मचारी रहने निवासको खोजी भएको छ।
मुख्यमन्त्रीको निवास अख्तियार दुरूपयोग अनुसन्धान आयोगको भवनमा रहनेछ। अख्तियार भने आफ्नै नयाँ भवनमा सरेको छ। अख्तियारको नयाँ भवनको बुधबार उद्घाटन भएको छ।

सभामुख र उपसभामुख सडक डिभिजन कार्यालयको कम्प्लेक्समा रहने प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले बताउनुभयो। प्रदेशका सबै मन्त्रीको सामूहिक निवास हेटौंडा सिमेन्ट उद्योगको क्वार्टरमा रहनेछ।बिहीबार हेटौंडामा संघीय नेपालको पहिलो प्रदेशसभाको एतिहासिक बैठक बसेको थियो। माइकले सुनाएको राष्ट्रिय गानसँगै प्रदेश संसद्को अभ्यास अघि बढेको हो। निर्वाचनमा विजयी भएको दुई महिनापछि पहिलो बैठकमा सहभागी हुँदै गर्दा प्रदेशसभा सदस्यको मुहारले खुशीको सन्देशसहित मुलुक अब समृद्ध बनाउने भाव छरेको देखिन्थ्यो। देशमा संघीय सपनाले पूर्णता पाएको ऐतिहासिक दिन बिहीबार हेटौंडाको संसद् भवनमा प्रवेश गरेका अधिकांश सदस्य युवा थिए। सीमान्त वर्ग र समुदायबाट प्रतिनिधित्व गर्नेको पनि बाहुल्यता थियो।