प्रदेश ४ मा खुल्यो मुख्यमन्त्रीको कार्यालय



पोखरा । प्रदेश ४ मा पहिलो बैठक अघि नै मुख्यमन्त्रीको कार्यालय स्थापना भएको छ । प्रदेश राजधानी पोखराको पार्दीस्थित निर्माणाधीन सीप विकास प्रशिक्षण केन्द्रको भवनमा बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तरिक मामिला तथा कानुन मन्त्रालय स्थापना गरिएको हो ।

हिन्दु परम्पराअनुसार पुरोहितबाट पूजा तथा टिका ग्रहण गरेर मन्त्रालय सञ्चालनमा ल्याइएको हो । प्रदेशका प्रमुख सचिव तोकिएका क्षेत्रीय प्रशासक लक्ष्मणप्रसाद अर्यालले बिहीबार नै पद बहाली गरे ।

उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सञ्चालन तथा अन्य तयारी गर्नेछन् । मुख्यमन्त्री कार्यालयको सचिव लालमणी ओझाले पनि पदबहाली गरेका छन् ।

दुई वटा मन्त्रालय बिहीबारदेखि नै खुलेको र केही दिनमै आर्थिक मामिला तथा योजना मन्त्रालय सञ्चालनमा आउने प्रमुख सचिव अर्यालले जानकारी दिए ।

‘मन्त्रालय सञ्चालनमा आए पनि मुख्यमन्त्री तथा मन्त्रीहरु निर्वाचित नभएकाले प्रदेश सभा बैठक तथा मन्त्रालय सञ्चालन तयारीमा हामी जुट्ने छौं,’ प्रमुख सचिव अर्यालले भने ।

सीप विकासको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय गरी तीन मन्त्रालय रहने छ ।

बिहीबारै आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव फणीन्द्रमणि पोखरेलले पनि पदबहाली गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्