वीरगन्जलाई राजधानी बनाउन आयो यस्तो ‘अफर’

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज । वीरगन्जलाई केही दिनदेखि प्रदेशको राजधानी बनाउन’ पर्ने माग गर्दै आन्दोलन गर्दै आइरहेको संघर्ष समितिले बुधबार अनौठो घोषणा गरेको छ । वीरगन्जलाई प्रादेशिक राजधानी बनाउनुपर्ने माग राखेर संघर्षरत समितिले मुख्य मन्त्रीका लागि दिने गाडी समेत सार्वजनिक गरेको हो ।

वीरगन्जको घण्टाघरमा जारी रिले अनसनस्थलमा १ करोड ५६ लाख रुपैयाँ पर्ने गाडी सार्वजनिक गरिएको छ । संर्घष समितिका सदस्य एवं नेसनल मेडिकल कलेजका प्रबन्धक बसरुदिन अन्सारीले यसअघि नै वीरगन्जलाई प्रदेश नं. २ को प्रादेशिक राजधानी बनाएको खण्डमा मुख्य मन्त्रीलाई चढ्न गाडी दिने घोषणा गरेका थिए ।

बुधबार दिनभर १ करोड ५६ लाख मुल्य पर्ने बा १८ च ९७३४ नम्बरको पजेरो अनसन स्थलमा राखेर प्रदर्शन गरिएको थियो ।गाडी दिने घोषणा गरेका अन्सारीले वीरगन्जले देशलाई नै थेग्ने हैसियत राख्ने बताउँदै मुख्यमन्त्रीको लागि गाडी उपलब्ध गराउनु ठूलो कुरा नभएको प्रतिक्रिया दिए ।

वीरगञ्जलाई प्रादेशिक राजधानी घोषणा गरिए मुख्यमन्त्री, मन्त्रीहरुका लागि क्वार्टर र मन्त्रालय सञ्चालनको लागि संघर्ष समितिले थप सेवा सुबिधाको व्यवस्था मिलाउने संघर्ष समितिका प्रवक्ता ओमप्रकाश सर्राफले जानकारी दिए ।