सामुदायिक विद्यालयमा ओरालो लाग्दै विद्यार्थी

0
Shares

नेपाल समाचारपत्र, लमजुङ । लमजुङका सामुदायिक विद्यालयहरूमा बर्षेनी विद्यार्थी सँख्या घट्दै जान थालेको छ । सामुदायिक विद्यालयहरूमा रहेको विद्यार्थी सँख्या प्रति बर्ष ४ हजारका दरले ओह्रालो लाग्दै गएको छ ।

सामुदायिक विद्यालयहरूको पछिल्लो तीन वर्षदेखिको तथ्याँकलाई हेर्दा जिल्लास्तरमा नै हरेक बर्षि ४ हजारका दरले सामुदायिक विद्यालयमा विद्यार्थी घटेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । लमजुङको बेसीशहर नगरपालिका– १० को बाँझाखेत स्थित बुद्धविकास प्राथामिक विद्यालयमा तीनजना शिक्षक कार्यरत छन् तर विद्यार्थी एकजना मात्र रहेको जिल्ला शिक्षा अधिकारी गोपाल प्रसाद कँडेलले बताउनु भयो ।

उहाँँका अनुसार जिल्ला शिक्षा कार्यालयमा रहेको तथ्याँक अनुसार चालु शैक्षिक सत्रमा मात्रै जिल्लामा १० जना भन्दा कम विद्यार्थी भएका विद्यालयको संख्या ५६ रहेको छ ।

जिल्लाका तिन विद्यालयमा दुई–दुई जना, दुई विद्यालयमा तिन–तिनजना, दुई विद्यालयमा चार–चार जना र दुई विद्यालयमा पाँच–पाँच जना विद्यार्थी अध्ययनरत छन् । जिल्लाका तीन सय ४९ विद्यालय मध्ये करिब डेढसय विद्यालययमा मुस्किलले विस जनासम्म विद्यार्थी रहेको शिक्षा कार्यालयको तथ्याङ्कमा देखिएको जिल्ला शिक्षा कार्यालयका सूचना अधिकारी बाबुराम बरालले बताउनु भयो ।

उहाँका अनुसार वैदेशीक रोजगार र निजी विद्यालयप्रतिको आकर्षणले सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै गएको पाइएको छ ।
जिल्लामा यसअघि विद्यार्थी संख्या अत्यन्तै कम भएका २० विद्यालयलाई (मर्ज) गरिसकिएको थियो भने १० विद्यालयको तह घटाइएको थियो ।

सो बाहेक विद्यार्थी संख्या कम भएका विद्यालयलाई मर्ज गर्ने तयारी गरे पनि सफल नभएको जिशिअ कँडेलले बताउनु भयो । उहाँका अनुसार सामुदायिक विद्यालयहरूमा रहेको विद्यार्थी सँख्या प्रति बर्ष ४ हजारका दरले ओह्रालो लाग्दै गएको छ । पछिल्ला ३ वर्षको शिक्षा कार्यालयको रेकर्डले त्यस्तो देखाएको कँडेलको भनाई छ । उहाँले भन्नुभयो, ‘संविधानले कक्षा– १२ सम्मको शिक्षाको जिम्मा स्थानीय तहलाई सुम्पेको अवस्थामा यो स्थिति चुनौतिका रुपमा देखिएको छ ।’

सामुदायिक विद्यालयहरूमा शैक्षिकस्तर कायम हुन नसक्दा यस्तो अवस्थाको सिर्जना भएको सम्बद्ध पक्षको भनाई छ । यसबारेमा बेसीशहर नगरपालिकामा सम्पर्क गर्दा निजी विद्यालयको तुलनामा तलब तथा तालिमको राम्रो प्रवन्ध छ सामुदायिक विद्यालयमा तर पनि विद्यार्थी तथा अभिभावकको आकर्षण ती विद्यलयमा बढ्न नसकेको बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताउनु भयो ।

उहाँका अनुसार वैदेशिक रोजगार, बढ्दो शहरीकरण र निजी विद्यालयप्रतिको आकर्षणले ग्रामिण भेगमा रहेका विद्यालयहरू खाली हुने सहायक अवस्था हुन् । हामी जनप्रतिनिधि भएका नाताले चुनौति थपिएका छन्, हामी समाधानको खोजीमा छौँ । त्यसका लागि पहिलो शिक्षकले स्कूल टाइममा बस्ने वातावरण हुनुप¥यो, त्यसका लागि नगरपालिकाका सबै मावि र निमाविमा चालु आवमै ई– हाजिरीको प्रवन्ध गर्न लागिएको नगरप्रमुख अर्यालले बताउनु भयो । उहाँका अनुसार स्थिति सुध्रिनु पर्छ र सक्छौँ भन्ने विश्वास छ भन्नुभयो ।