एक महिने माधवनारायण ब्रत एवं मेला समापन

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर । भक्तपुरको हनुमानघाट स्थित त्रिवेणीघाटमा एक महिना अगिदेखि सुरु भएको माधवनारायण ब्रत एवं मेला आजबाट समापन भएको छ । पौष शुक्ल पूर्णिमादेखि शुरू भएर एक महिनासम्म चलेको व्रतको आज विधिवतरूपमा समापन भएको हो ।महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाएमा मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

माधवनारायण ब्रत व्यबस्थापन समितिका सदस्य एवं पुजारी गोपाल शर्माले यो मेला भक्तपुरमा नेपाल संवत्को आठौँ शताब्दीदेखि सुरु भएको बिश्वास रहेको बताउनुभयो । साँखुको शालिनदी जस्तै हनुमानघाटको त्रिवेणी धाममा लाग्ने माधवनारायण मेलामा यसवर्ष ३ जना महिला र १२ जना पुरुष गरि १५ जना ब्रत बसेका थिए । भूकम्पले संरचना भत्केकाले बस्ने ठाउँ नहुँदा यसवर्ष ब्रत बस्ने संख्यामा निकै कमि आएको छ । ब्रत बस्नेतमा ६ वर्षका बालकदेखि ७५ वर्षका बृद्धसम्म रहेका थिए ।

माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्खजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको यहाँका पुजारी शर्माले जानकारी दिनुभयो ।

नेसं ७२२ मा रणजीत मल्ल आफैँले व्रतको व्यवस्थापन गरिएका शिलालेखमा उल्लेख गरिएको बताउँदै उहाँले यहाँ स्थित त्रिवेणीघाटमा डुबेर एकचित्त भएर जे माग्यो त्यो पुरा हुने जनविश्वास रहेकाले यहाँ ब्रत बस्ने र स्नान गर्ने आउने गरेको उहाँको भनाई थियो ।

ब्रतालुले खाली खुट्टा पैदल नै तीलमाधवबाट तलेजु भवानीसम्म, सप्तमीमा पनौती गएर त्रिवेणीमा बसेर स्नान गरि ईन्द्रेश्वर महादेवको दर्शन गरि अष्टमीमा फर्कने, दशमीमा पशुपति गएर स्नान गरि जल चढाएर जयवागेश्वरी ताम्रेश्वर महादेवसम्म कलश यात्रा गर्ने, द्धादशीमा चाँगुनारायण शंखदहमा स्नानगरि कलश लिएर चाँगुनारायणको दर्शन गर्ने र माघ शुक्ल पुर्णिमाका दिन नगरपरिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा ईन्द्रकलश चढाएर एक महिने ब्रत समापन गर्ने परम्परा रहेको माधवनारायणका अर्का पुजारी राजु राजोपाध्यायले बताउनुभयो ।

ब्रतालु महिलाहरु त्रिवेणीघाटमा महिनादिनसम्म बसेर ब्रत पुरा गर्ने र पुरुषहरु ब्रतालु भने हरेक दिन विहान त्रिवेणी खोलामा आएर नुहाउने तथा ब्रतालु महिलासंगै बिभिन्न स्थानको कलश यात्रामा सहभागि जनाउने गरेपनि यसवर्ष भने महिलालाई पनि यहाँ बस्ने व्यबस्था नगरिएकाले ब्रतालुको संख्या घटेको उहाँले बताउनुभयो ।

भूकम्पले भत्काएको यहाँको भौतिक संरचना पुर्ननिर्माण सुरु गरिएकाले यसवर्ष बस्ने ठाउँको अभावका कारण राती बस्ने ब्यबस्था नगर्दा ब्रतालुको संख्या घटेका हुन् । ब्रतालुहरुले माघ शुक्ल पूर्णिमाको दिन विहान त्रिवेणी खोलामा आएर स्नान गरि माधवनारायणको पुजा गरेर होम आहुती गरेपछि भक्तपुर नगरका बिभिन्न देवालयहरुको परिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा ईन्द्रकलश चढाएर मेला समापन गर्ने परम्परा रहेको छ ।

राम, लक्ष्मण वनबास आउँदा दही चिउँरा खाने क्रममा पानीको व्यबस्था गर्न हनुमानले आफ्नो पुच्छरले खाल्डो बनाएर पानी निकालेको र उत्तर, दक्षिणबाट आएको खोला एवं हनुमानले पुच्छरबाट पानी निकालेपछि आएको मूलको पानी मिश्रित हुने भएकाले पनि यस क्षेत्रलाई त्रिवेणीघाँट भन्ने प्रचलन रहेको छ ।