भण्डारित मकै कीराले सखाप, बैतडीमा भोकमरीको चिन्ता

0
Shares

विनोद सिंह विष्ट, बैतडी । बैतडीको तल्लोस्वराड क्षेत्रमा किसानले भण्डारण गरेको मकै कीरा(घुन)ले नष्ट गरेपछि किसानहरु चिन्तित बनेका छन् । भण्डारण गरेको लुटा(थुप्रो)मै कीराले मकै नष्ट गरेको शिवनाथ गाउँपालिका ४ गणेश रावतले बताउनुभयो । उहाँले भन्नुभयो “मकै भाँचेर सुकाउनका लागि लुटामा भण्डारण गरिएको लुटामै कालो कीराले मकै नष्ट गरेको छ ।”

आफ्नो बारीमा फलेका मकै भण्डारण गरिएकै ठाउँमा कीराले नष्ट गरेपछि भोकमरीको सम्भवना बढेको शिवनाथ ४ का करन साउँदले बताउनुभयो । उहाँले भन्नुभया े“सुरक्षित रहँला भनेर राखेको मकै सबै किराले नष्ट गर्यो, अब भोकमरीको चिन्ता बढ्यो ।”

जिल्लाको तल्लोस्वराड क्षेत्रको मेलौली नगरपालिका,शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा किसानहरुले भण्डारण गरेको मकै कीराले नष्ट गरेको छ । मकै भण्डारण गरिएको थुप्रोमै नष्ट भएपछि आफूहरुलाई निकै समस्या भएको मेलौली नगरपालिका ८ का किसान राजु ठगुन्नाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “भण्डारण गरेको सबै मकैमा किरा लागेपछी चिन्ता बढेको छ ।”

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत तल्लास्वराड क्षेत्रलाई मकैको पकेट क्षेत्रको रुपमा घोषणा गरि उत्पादनमा वृद्धि भएपनि कीराहरुले मकै नष्ट भएपछि किसानहरु चिन्तित बनेका छन् । किसानहरुको समस्याका बारेमा बुझ्दै आफूले कृषि प्राविधिकहरुसंग सरसल्लाह गरेको बैतडी क्षेत्र नं ख का सांसद लिलाधर भट्टले बताउनुभयो । उहाँले भन्नुभयो “मकैमा देखिएको प्रकोपका बारेमा नेपाल कृषि अनुसन्धान परिषदमा पठाइनेछ ।”

थुपारेको मकै नष्ट गरेको बारेमा आफूहरुलाई जानकारी आएको यसको कारणबारे नेपाल कृषि अनुसन्धान परिषदसंग समन्वय गर्ने जिल्ला कृषि विकास कार्यालय बैतडीका योजना अधिकृत कर्णबहादुर चन्दले बताउनुभयो । तल्लोसोराड प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत किसानले मकैको बीउ उत्पादनका लागि मकै छरेका थिए उहाँले भन्नुभयो “सुकाउनका लागि राखिएको थुप्रोमै कीरा लागेपछि अब बीउ समेत नहुने भएको छ ।”

भण्डारण गरेर राखेको मकै नै किराले नष्ट गरेपछी भोकमरी हुने भन्दै यहाँका किसान चिन्तित बनेका हुन् ।
यस्तै दार्चुलाको शैल्यशिखर नगरपालिका सेत्कलामा पनि किसानहरुले भण्डारण गरेको मकै कीराले नष्ट गरेपछि किसानहरु चिन्तित बनेका छन् । गाउँमा रहेका सबैको मकै कीराले नष्ट गरेको स्थानीयबासी श्यामसिंह साउदले जानकारी दिनुभयो ।