राजधानीमा नक्कली डाक्टरको बिगबिगी



काठमाडौं, (नेस)
नेपाल र नेपाली जनताको स्वास्थ्यमाथि खेलबाड गर्दै आएका झन्डै दुई दर्जन विदेशी नागरिक अनुसन्धानको दायरामा पुगेका छन्। सोमबार एकै दिन ठमेलदेखि बौद्धसम्मका केही क्लिनिकमा अवैधरूपमा चिकित्सकीय अभ्यास गरिरहेका विदेशी नागरिक पक्राउ परेका हुन्।

यसरी अवैधरूपमा चिकित्सकीय अभ्यास गर्दै आएका अधिकांश काठमाडौं उपत्यकाभित्र विभिन्न अस्पताल तथा क्लिनिकहरूमा डाक्टर बनेर काम गरिरहेका फरक फरक मुलुकका नागरिक भएको बुझिएको छ।पक्राउ पर्नेमा काठमाडांैकोे ठमेलस्थित एपोलो क्लिनिक, बौद्धस्थित चाइना ग्रेटवाल, सिम्रिक अस्पताललगायतमा कार्यरत विदेशी नागरिकहरू भएको बुझिएको छ।

सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र मेडिकल काउन्सिलले संयुक्तरूपमा छापा मार्ने क्रममा विदेशी नागरिकहरू कार्यस्थलबाटै पक्राउ परेका हुन्। हालसम्म पक्राउ पर्नेहरूमा कुन कुन मुलुकका को को रहेका छन् भन्ने बारेमा अनुसन्धान भइरहेकाले सार्वजनिक गर्न नमिल्ने अनुसन्धानमा खटिनुभएका सीआईबीका प्रमुख डीआईजी पुष्कर कार्कीले बताउनुभयो।

पक्राउ परेका विदेशी नागरिकहरूले नेपाल मेडिकल काउन्सिलको अनुमति लिए/नलिएको पनि खुलेको छैन।

विदेशी चिकित्सकले नेपालमा चिकित्सकीय अभ्यास गर्न नेपाल मेडिकल काउन्सिलको नियमअनुसार अनुमतिपत्र लिनुपर्छ। अनुसन्धानको दायरामा पुगेका ती विदेशी नागरिकले चिकित्सा विज्ञानको अध्ययन समेत पूरा गरिनसकेको हुन सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्