रुकुमकोटमा तनाव, सिडियो थुनिए

0
Shares

धनवीर दाहाल, रुकुमकोट । विहीबार रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट सार्ने सरकारको निर्णय विरुद्ध रुकुमकोटमा आन्दोलन झन चर्किँदै गएको छ । आइतबार सदरमुकाम रुकुमकोटमा जिल्ला अदालत बाहेक सबै सरकारी कार्यालयमा तालाबन्दी गरिएको छ भने बजारमा लाठी जुलुश प्रर्दशन भएको छ ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाले आफुलाई पनि निबास भन्दा बाहिर जान नदिइएको जानकारी दिनुभयो । उहाँले ३ दिन सम्म आफु निवास बाहिर जान नपाएको बताउनुभयो ।

आइतबार आफुहरुको आन्दोलनमा भुमेगाँउपालिका र पुथा उत्तरगंगा गाँउपालिकाको केही वडा पनि सहभागी भएको संघर्ष समितीका सदस्य केशवचन्द्र समालले बताउनुभयो । गत विहीबार सरकारले रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट पुथाउत्तरगंगा १२ गोलखाडामा सार्ने निर्णय गरेको थियो । उक्त निर्णयको विरुद्धमा रुकुम पूर्वमा आन्दोलनको घोषणा गरिएको छ ।

रुकुमकोट र सदरमुकामबासीले अनिश्चितकालिन आमहडतालको आह्वान गर्दै विरोधमा उत्रिएका छन् । । जिल्लामा रहेका सरकारी सबै कार्यालयहरु ठप्प पारिएको छ । यातायात, शैक्षिक सस्था लगायतका सेवा पनि ठप्प पारिएको छ । यसै बिच स्थानीयहरुले सदरमुकामको बारेमा जनप्रनिनिधिहरु मौन रहेकोमा आपत्ति जनाएका छन् ।

राष्ट्रिय स्तरका ख्याती प्राप्त नेताहरुले एउटा बिज्ञप्ती सम्म निकाल्न नसक्नुले नेताहरुले कस्तो भुमिका खेलेका छन् भनेर बुझन नसकिएको आन्दोलन परिचालन समितीका संयोजक नन्दलाल शर्माले बताउनुभयो । यस्तै स्थानीय बुद्धिजिवी बलबहादुर शाहीले राष्ट्रिय स्तरका नेताहरुको हैसियत अव सामान्य वडा स्तरमा आएर काम गर्ने खालको नभएको दावी गर्नुभयो । नेताहरुले आफ्नो धारणा प्रस्ट रुपमा दिन नसकेको उहाँको भनाई छ ।