माथिल्लो तामाकोसी आयोजना, दुई वर्ष ढिला हुने संकेत

0
Shares

चिरञ्जीवी मास्के, दोलखा
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको लागि आवश्यक सामग्री ढुवानी गर्ने भारतीय ठेकेदार कम्पनीले काममा ढिलाइ गर्दा आयोजना झण्डै २ वर्षपछि धकेलिने संकेत देखिएको छ। भारती ठेकेदार कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले पेनस्टक पाइपको ढुवानीको काम २५ प्रतिशत मात्र पूरा गरेकाले आयोजना झण्डै २ वर्ष ढिला हुने संकेत देखिएको हो।

आयोजनाले निर्माण कार्यलाई छिटो छरितो बनाउन ४ भागमा विभाजन गरी ठेक्का लगाएको तर भारती ठेकेदार कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले लक्ष्यअनुसार काम नगर्दा आयोजना करिब २ वर्ष ढिला हुने संकेत देखिएको आयोजनको उच्च स्रोतले जनाएको छ।

टेक्सम्याकोले ढुवानी गरी जडान गर्नुपर्ने ५ मिटर लम्बाई र ३ दशमलव ६ गोलाई भएको १ सय ६० वटा पेनस्टक पाइपमध्ये आयोजनास्थलमा करिब ४० वटामात्र ढुवानी भएको छ। आयोजना व्यवस्थापनले कम्तिमा २० वटा गाडीबाट ढुवानी गर्न पटकपटक पत्राचार गरे पनि भारतीय ठेकेदार कम्पनीले ३ वटा गाडीले मात्र ढुवानी गरिरहेको आयोजनाको उच्च स्रोतले जनाएको छ।

लट–२ को ठेकेदार टेक्सम्याकाले लक्ष्यअनुसार कार्य नगरिदिँदा समयमा नै आयोजनको काम सम्पन्न गर्न समस्या भएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले स्वीकार गरेका छन्। आयोजनाको निर्माण कार्य करिब ९४ प्रतिशत सम्पन्न हुँदा भारतीय ठेकेदार कम्पनी टेक्सम्याकोको ठेक्काको काम भने ४० प्रतिशत पनि सम्पन्न हुन सकेको छैन।

टेक्सम्याकोले एउटा पेनस्टक पाइप सिमरादेखि सिन्धुपाल्चोकको सुनकोसीसम्म ५ दिन र सुनकोसीबाट आयोजनास्थल लामाबगरसम्म करिब १२ दिन लगाएर ढुवानी गर्दै आएको छ। उक्त ठेकेदार कम्पनिले बाँकी सामान पनि यहि प्रक्रियाले ढुवानी गरे १२० वटा पेनस्टक पाइप ढुवानी गर्न साढे २ वर्ष लाग्ने देखिन्छ।

आयोजनाको ३७३ मिटरको ठाडो सुरुङ, १०० मिटरको तेर्सो सुरुङ र ३१० मिटरको अर्को ठाडो सुरुङमा पेनस्टक पाइप जडान गर्नुपर्ने हुन्छ। पेनस्टक पाइप जडानको काम नभई विद्युत उत्पादन सम्भव नभएकाले आयोजनाको काम पछि धकेलिने संकेत देखिएको आयोजनाको उच्च स्रोतको भनाइ छ।

नेपाल विद्युत् प्राधिकरणका एक उच्च अधिकारीका अनुसार तामाकोसी आयोजनाले निर्धारित समयमा विद्युत् उत्पादन गर्दा भारतलाई वार्षिक करिब १६ अर्ब घाटा लाग्ने हुँदा भारतीय कम्पनीले नियतबस काममा ढिलाई गरिरहेको हुन सक्छ। राष्ट्रिय गौरवको आयोजनालाई समयमै सम्पन्न गर्ने र काममा कसैले जानी जानी ढिलाइ गरेको छ भने त्यस्तोलाई कारबाही गर्ने आँट सरकारले गर्नुपर्ने सरोकारवालाको भनाइ छ।