क्लोनिङबाट दुई स्वस्थ बाँदर जन्माउन सफल, मानव क्लोनको सम्भावना बढ्यो


बेइजिङ, (एजेन्सी)
अनुसन्धानकर्ताले पहिलो पटक ‘डली’ भेडा जन्माउन प्रयोग गरेको क्लोनिङ प्रविधिलाई स्वस्थ बाँदर उत्पादनमा प्रयोग गरेका छन्। विज्ञानका लागि यसले मानवमा पनि समान विधि प्रयोग गर्न सकिनेतर्फ महŒवपूर्ण कदम मानिएको छ।

सन् १९९६ मा डलीको जन्मेदेखि वैज्ञानिकहरूले कुकुर, बिरालो, सुंगुर, गाई र घोडालगायत करिब दुई दर्जन स्तनपायीको क्लोन गरिसकेका छन्। यस विधिबाट मानव भ्रुण पनि निर्माण गरिसकेका छन्। तर अहिलेसम्म उनीहरू बाँदर, एप्स र मानव वर्गमा यो विधिबाट शिशु विकास गर्न समर्थ भएका थिएनन्।

‘प्राइमेट प्रजातिको क्लोनिङमा रहेको व्यवधान हटेको छ।’ –सांघाइ स्थित चाइनिज एकेडमी अफ साइन्सका ममिङ पुले घोषणा गरे। जर्नल सेलमा प्रकाशित शोधमा उनी र उनका सहकर्मीले दुईवटा माकाक्वी सफलतापूर्वक विकास गर्न सकेको घोषणा गरेका छन्। दुई पोथी शिशु बाँदर ७ र ८ हप्ताका भइसकेको र उनीहरूको नाम जोङ जोङ र हुवा हुवा राखिएको जनाइएको छ।

यस विधिले मानव क्लानिङ सैद्धान्तिकरूपमा सम्भव हुने देखिएको पुले बताए। तर आफ्नो टोलीले त्यस्तो गर्ने कुनै मनसाय नबनाएको उनले बताए। मूलधारमा रहेका वैज्ञानिकहरूले मानव शिशु क्लोनको विरोध गरिरहेका छन्। समाजले नैतिक सिद्धान्तका कारण यसमाथि प्रतिबन्ध लगाएको पु बताउँछन्।

उनले चिकित्सकीय अनुसन्धानका लागि धरै संख्यामा वंशाणुगत समान बाँदर उत्पादन गर्ने उद्देश्य रहेको बताए। उनीहरू प्रयोगशालामा बनाइने अन्य जनावर मुसा वा छुचुन्द्रोभन्दा मानवसँग धेरै मिल्ने भएकाले विशेष मूल्यवान् हुने बताए।

यो प्रक्रिया अझै पनि धरै कमजोर रहेको छ। दुईवटा शिशु बाँदरका लागि १ सय २७ अन्डाको प्रयोग भएको थियो। अहिलेसम्म यसमा एउटा बाँदरको भ्रुणको प्रयोग भएको छ। वैज्ञानिकहरू एउटा वयस्क बाँदरबाट स्वस्थ बच्चा उत्पादन गर्न असफल नै भएका छन्। तर उनीहरू यसका लागि प्रयासरत छन् र केही गर्भको नतिजाको पर्खाइमा छन्।