पाइप बिच्छ्याउन ८ अर्ब अभाव

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
रकम अभावका कारण काठमाडौंका विभिन्न ठाउँमा अझै मेलम्ची खानेपानीको पाइपलाई बिच्छ्याउन नसकेको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ। खानेपानीको ट्यांकी तथा मेलम्ची खानेपानीको पाइपलाइनसम्बन्धी सम्पूर्ण कामको जिम्मा पाएको निर्देशनालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएको हो।

सो कार्यक्रममा निर्देशनालयका प्रवक्ता लीला ढकालले रकम अभावका कारण काठमाडौंका ३० प्रतिशत स्थानमा पाइपलाइन बिच्छ्याउने काम अगाडि बढाउन नसकिएको बताउनुभयो। ‘काठमाडौंमा मेलम्ची खानेपानी खुवाउन रकम अभावकै कारण पाइपलाइन थप विस्तार गर्न सकिरहेका छैनौं’, उहाँले भन्नुभयो– ‘हामीले विस्तृत अध्ययन गरेर सम्बन्धित ठाउँमा जानकारी गराइसकेका छौं।’

काठमाडौंको धुम्बाराही, महाराजगन्ज, सामाखुसी र कलंकी क्षेत्रमा खानेपानीको पाइपलाइन बिच्छ्याउन रकम अभाव भएको हो। यस क्षेत्रमा पाइपलाइन विस्तार गर्न ८ अर्ब लाग्ने निर्देशनालयले जनाएको छ।
निर्देशनालयले थोक वितरण प्रणालीअन्तर्गत ७७ किमि पाइपलाइन विस्तार गर्नुपर्नेमा हाल ६७ किमिको हारहारीमा पाइपलाइन बिच्छ्याइसकेको छ भने ६ सय ३० किमि वितरण सञ्जाल सुधारअन्तर्गत ६ सय ५० को हाराहारीमा पाइपलाइन बिच्छ्याउने काम सम्पन्न भइसकेको प्रवक्ता ढकालले बताउनुभयो।

निर्देशनालयले ट्यांकी बनाउने, खानेपानीको पाइपलाइन बिच्छ्याउनुका साथै भल्व चेम्बर र फायर हाइड्रेन्टको निर्माण भइरहेको जनाएको छ। हालसम्म १ हजार ६ सय २७ भल्व चेम्बर बनाउनुपर्नेमा ५ सय १ बनेको छ भने कतै आगलागी भयो भने त्यसका लागि उपयोगी हुने गरी निर्माण भइरहेको फायर हाइड्रेन्ट हालसम्म २ सय ५२ स्थानमा बनाउनुपर्नेमा ८४ वटा मात्रै बनेको निर्देशनालयले जनाएको छ।

त्यस्तै भक्तपुरको कटुन्जेबाहेक निर्देशनालयले महांकाल चौर, बाँसबारी, पानीपोखरी, खुमलटार, बालाजु, टिगनी, कीर्तिपुर र आरुबारीमा ट्यांकी बनाउने काम अन्तिम चरणमा पुगेको जनाएको छ। मेलम्चीबाट शुरूङमार्ग हुँदै काठमाडौंमा पानी ल्याउन अन्तिम तयारी भइरहँदा खानेपानी वितरण सञ्जालको पनि काम तीव्र गतिमा भइरहेको निर्देशनालयले जनाएको छ। त्यस्तै ढल प्रशोधन केन्द्र बनाउने कार्य पनि भइरहेको निर्देशनालयले जनाएको छ। ढल प्रशोधन केन्द्र गन्ध नआउने वातावरण मैत्री हुने दाबी गरेको छ।