डा. रुइतलाई पद्मश्री सम्मान



काठमाडौं, (नेस)
भारत सरकारले डा. सन्दुक रुइतलाई पद्मश्री सम्मान प्रदान गर्ने भएको छ। शुक्रबार भारतको ६९औं गणतन्त्र दिवसका अवसरमा नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले आयोजना गर्नुभएको स्वागत समारोहमा सो कुरा बताउनुभएको हो।

समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित हुनुहुन्थ्यो। प्रम देउवासँगै उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, सांसद, पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, उद्योेगपति, व्यापारी, समाजसेवी, कलाकार, वरिष्ठ पत्रकारलगायत समाजका प्रतिष्ठित वर्गको उपस्थिति थियो। समारोहमा राजदूत पुरीले नेपाली नागरिक डा. सन्दुक रुइतलाई पद्मश्री सम्मान प्रदान गर्ने निर्णय भारत सरकारले गरेको जानकारी दिँदै यसै वर्ष विशेष समारोहमा उक्त सम्मान प्रदान गरिने बताउनुभयो। भारत र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्ष पुगेको बताउँदै उहाँले दुई देशबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको बताउनुभयोे।

कार्यक्रममा राजदूत पुरीले भारतको राष्ट्रिय झन्डा फहराउँदै गणतन्त्र दिवसका अवसरमा भारतका राष्ट्रपतिले जारी गर्नुभएको सन्देश वाचन गर्नुभएको थियो। उहाँले विभिन्न सामाजिक संघसंस्था तथा अस्पताललाई ६ वटा बस र ३० वटा एम्बुलेन्स एवम् शैक्षिक प्रतिष्ठानलाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्