अलमलमा एमाले–माओवादी एकता “अविश्वास र आशंका बढ्यो”

0
Shares

पार्टी एकता प्रक्रिया अगाडि बढ्न नसके पनि प्रदेश सरकार गठनमा भागवण्डामै अगाडि बढाउनका लागि कार्यदल गठन गरेर काम गरिरहेका छन्।

मधूसूदन रायमाझी, काठमाडौं

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचमा पार्टी एकताको प्रक्रिया अगाडि बढाउन अलमल देखिएको छ। नयाँ सरकार गठनअघि नै पार्टी एकताको प्रक्रिया पूरा गर्ने तयारीका साथ गृहकार्य अगाडि बढेपछि पद बाँडफाँडमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कुरा मिल्न नसक्दा प्रक्रिया अगाडि बढ्न सकेको छैन।

ओली र प्रचण्डकै बीचमा कुरा नमिल्दा पार्टी एकताका लागि गठन गर्ने दुईवटा कार्यदल पनि बन्न सकेको छैन। नेकपा एमालेले पार्टी र सरकारको नेतृत्व ओलीले नै गर्नुपर्ने अडान लिएको छ भने माओवादी केन्द्रले सरकारको नेतृत्व ओलीले गर्दा पार्टीको नेतृत्व प्रचण्डले पाउनुपर्ने अडान लिएको छ।

यही विषयमा ओली र प्रचण्डबीचमा समझदारी हुन सकेको छैन। पटक–पटक ओली र प्रचण्डको बीचमा वान टु वान वार्ता भए पनि दुवै अध्यक्षले अडान नछोड्दा एकता प्रक्रियाको काम अगाडि बढ्न सकेको छैन।

माओवादी केन्द्र सरकार गठनअघि नै पार्टी एकताको प्रक्रिया टुंगो लगाउनुपर्ने पक्षमा देखिए पनि एमाले भने सरकार गठन र पार्टी एकता प्रक्रिया एकसाथ अगाडि बढाउने पक्षमा देखिएको छ। पार्टी एकताका लागि माओवादीको हतारो र एमालेले पर्ख र हेरकै नीति अख्तियार गरेका छन्।

पार्टी एकता प्रक्रिया अगाडि बढ्न नसके पनि प्रदेश सरकार गठनमा भागवण्डामै अगाडि बढाउन कार्यदल गठन गरेर काम गरिरहेका छन्। तर महत्वपूर्ण मानिएको एकताको प्रक्रिया अगाडि बढाउने काम भने अगाडि बढ्न सकेको छैन। निर्वाचनपछि दुईपटक एकता संयोजक समितिको बैठक बसे पनि एकता प्रक्रिया अगाडि बढाउने मोडालिटीको बारेमा टुंगो लाग्न सकेको छैन।

एकता प्रक्रिया लम्बिँदै जाँदा दुई दलमा विश्वासभन्दा पनि अविश्वास र आशंका बढ्दै गएको माओवादी केन्द्रका एक नेताले बताए।

उनले भने– ‘एकता प्रक्रिया अगाडि बढाउन तत्काल कार्यदल गठन गरेर काम अगाडि बढाउनुपर्ने हो, जुन काम एमालेकै कारण ढिला हुँदै आएको छ।’

एमाले र माओवादी केन्द्रका नेताहरूले नै पार्टी एकता भाँड्ने षड्यन्त्र भइरहेको आशंका व्यक्त गर्न थालेका छन्। प्रचण्डले यसअघि प्रधानमन्त्री एवम् कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई पाँच वर्षका लागि प्रधानमन्त्री बन्न आग्रह गरेको सार्वजनिक गर्नुभएको थियो।

जुन विषयले एमाले सशंकित बनेको थियो। निर्वाचनमा वाम गठबन्धन बनाएर आफूलाई पहिलो दल बनाएको एमाले र निर्वाचनमा अपेक्षाकृत परिणाम ल्याउन सफल भएको माओवादी केन्द्रले निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका थिए।

तर निर्वाचन सम्पन्न भएको झन्डै २ महिना बितिसक्दासमेत एकता प्रक्रियाले गति लिन नसक्दा एमाले र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरू सशंकित बनेका छन्।

एमालेका एक नेताले पार्टी एकता प्रक्रिया जति धेरै लम्बिँदै जान्छ त्यति नै धेरै अविश्वास र आशंका पनि बढ्दै जाने बताए। उनले भने– ‘एकता प्रक्रिया अगाडि बढाउने जिम्मेवारी ओली र प्रचण्डकै हातमा छ, पार्टी एकता दुवै दलको अस्तित्व स्वीकार गरेर मात्र हुन्छ, दुवै दलले अडान छोडेर निर्वाचनमा जनता समक्ष गरेको प्रतिबद्धताअनुसार काम गर्नुपर्छ।’ दुवै पार्टीभित्र अविश्वास र आशंका बढ्दासमेत पार्टी एकताका लागि निर्णायक मानिएका ओली र प्रचण्डबीच पद बाँडफाँडमा अझै सहमति जुटन सकेको छैन।