फेला परेनन् सिलवाल, १ सय ५० जनाको टोली रित्तो हात फर्कियो



ललितपुर, (नेस)
प्रहरीको फरार सूचीमा रहेका प्रहरीका पूर्वडीआईजी एवं एमाले ललितपुर क्षेत्र नम्बर ३ का सांसद नवराज सिलवालाई पक्राउ गर्न पुगेको प्रहरी टोली रित्तो हात फर्किएको छ।
हिजो आइतबार बिहान महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी नकुल पोखरेल, ४ प्रहरी निरीक्षकसहित करिब १ सय ५० जनाको जम्बो टोली भट्टेडाँडा पुगेको थियो। बिहान ४ बजे भट्टेडाँडा प्रहरी मुख्यालबाट खटिएको टोलीले सिलवाललाई सो क्षेत्रमा ४ घण्टा खोजेको थियो। फेला पार्न नसकेपछि बिहान ९ बजे रित्तोहात सो टोली फर्किएको थियो।

सिलवाल ललितपुरको दक्षिणी भेगमा रहेको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टोली व्यापकरूपमा परिचालन गरिएको छ। सो टोलीले आइतबार दिनभरजसो विभिन्न क्षेत्रमा सर्च गरिरहेको छ।

प्रहरीको विशेष सुराकीको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरको सहयोगमा महाराजगन्ज गणको प्रहरी टोली भट्टेडाँडा पुगेको थियो। स्रोतका अनुसार सीआईबीको उच्च तहको टोली सिलवाललाई खोज्न परिचालन गरिएको छ। विशेष गरी दक्षिण ललितपुरका अधिकांश क्षेत्रमा सीआईबीको टोली परिचालन गरिएको छ।

पछिल्लो समय ट्वीटमार्फत जनताको प्रतिनिधि हुँ र कानुनको परिपालक एक जिम्मेवार नागरिक पनि हुँ। समय सकिन लाग्यो भन्ने हतारोमा राजनीतिक प्रतिशोध साध्न शक्तिको गलत प्रयोग गरी आफ्नो विपक्षीलाई प्रहार गर्ने जुन नौटंकी प्रदर्शन हुँदै छ, सत्यको जगमा त्यसको डटेर सामना हुनेछ भन्ने अभिव्यक्ति सार्वजनिक गरेपछि आक्रोशित सरकारले उहाँलाई खोज्न सातै प्रदेशका प्रहरीलाई निर्देशन दिएको थियो।

उता फरारको सूचीमा रहेका मनाङका प्रदेश सांसद दीपक मानाङ्गेलाई खोज्न सीआईबीको टोली विभिन्न स्थानमा परिचालन गरिएको छ। हिजो भएको प्रदेशसभाका सांसदको सपथ ग्रहण कार्यक्रममा उपस्थित नभएका मनाङेलाई खोज्न प्रहरी परिचालन गरिएको हो।

प्रतिक्रिया दिनुहोस्