पोखरा विविले रोजगारीमूलक विषय सञ्चालन गर्ने

0
Shares

 

काठमाडौँ। पोखरा विश्वविद्यालयले व्यवस्थापन प्रशासन संकायको स्नातकोत्तर तहमा नयाँ रोजगारीमूलक विषयको पठनपाठन शुरु गर्ने भएको छ ।

समयको माग र आवश्यकतानुसार विश्वविद्यालयले व्यवस्थापन प्रशासनमा स्नातकोत्तर तह नयाँ रोजगारमूलक कार्यक्रम एमबिए–उद्यमशील र खोजमूलक कार्यक्रममा पढाइ शुरु गर्ने विश्वविद्यालयका उपप्रशासक सानु घलेले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थीलाई रोजगारी खोज्नेको सट्टा रोजगारदाताका रुपमा विकास गर्नका लागि उक्त विषयको पढाइ शुरु गर्न थालिएको हो । विश्वविद्यालयको आङ्गिक क्याम्पस स्कुल अफ बिजनेश म्यानेजमेन्ट कलेजमा २०७५ साल फागुनदेखि मात्र पढाइ सञ्चालन हुनेछ ।

स्नातक तहमा जुनसुकै विषयमा दोस्रो श्रेणीमा उत्तीर्ण विद्यार्थीले उक्त विषय पढ्न पाउने छन् । चार सेमेस्टरमा पढाइ हुने सो विषय पहिलो चरणमा २० विद्यार्थीलाई मात्र अध्ययन गर्न व्यवस्था मिलाइनेछ । अहिले विश्वविद्यालयले आफ्नै आङ्गिक क्याम्पसमा पढाइ शुरु गरे तापनि पछि अन्य क्याम्पसलाई पनि उक्त विषयको पढाइका लागि सम्बन्धन दिन सकिने उपप्रशासक घलेले बताउनुभयो ।

विश्वविद्यालयले उक्त विषयमा दक्षिण कोरियाको हानदोङ ग्लोबल युनिभर्सिटी र त्रिविको सहकार्यमा नयाँ पाठ्यक्रम तयार पारेको पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक राजेशकुमार ठकुराठीले जानकारी दिनुभयो । विश्वविद्यालयले यसअघि व्यवस्थापन संकायमा स्नातकोत्तर तहमा अन्य विषय सञ्चालन गरेको थियो ।