‘छेक्यो छेक्यो भैरहवा मैदान हुस्सु र कुहिरोले’

0
Shares

भैरहवा । मुलुकभरिबाट सोनाम ल्होसार मनाउने भक्तजनको भीँड छेवैको लुम्विनीमा लागेकै साँझ भैरहवा पनि लोक भाकामा आधारित रक संगीतमा डुब्यो ।

स्थापनाको पच्चीस वर्ष मनाउँदै यात्रामा निस्केको सांगीतिक टोली नेपथ्यले बिहीबार पक्लिहवा हाइस्कुलको प्रांगणमा आफूलाई प्रस्तुत गरेको छ । जतिबेला तामाङ समुदायले आफ्नो मुख्य पर्व मनाइरहेको थियो त्यतिबेलै भैरहवाको मैदानमा हिउँको वर्षात्सहित तामाङबहुल लाङटाङ भेगबाटै संकलित गीत ‘भेँडाको ऊनजस्तो’ बजिरहेको थियो ।


यो कन्सर्टसँगै पूर्वी कुना झापाबाट सुरुभएको यसपटकको नेपथ्य यात्रा पश्चिमको अनुभवका साथ विश्राम लिएको छ । सिंगो पश्चिमी पहाडी भेगको नाका भएकै कारण भैरहवासँग नेपथ्य जोडिएको छ । गोर्खाभर्तीदेखि शिक्षा, स्वास्थ्य, तीर्थहुँदै जीविकाका अनेक अवसरका निम्ति द्वार रहँदै आएको यो ओहोर–दोहोर मार्ग पश्चिमेली लोकभाकासँग पनि जोडिँदै आएको छ । त्यसबाहेक स्वयं नेपथ्यकै कतिपय सदस्यहरुको विगत यो सिमावर्ती सहरमा बितेको थियो । यी सबै कारणले गर्दा भैरहवा कन्सर्ट एक किसिमको आत्मीय पनि बन्न पुगेकाे बताइएकाे छ।

‘पोखरा र पोखरेलीहरु जसरी भैरहवासँग जोडिएका छन् नेपथ्य पनि उसैगरि जोडिएको छ,’ कन्सर्टको अघिल्लो साँझ मात्र यहाँका आमा समूहले गरेको स्वागत कार्यक्रमबाट फर्केपछि नेपथ्यका मुख्य गायक अमृत गुरुङ भन्छन, ‘मैले बाल्यकालका महत्वपूर्ण क्षण बिताएको यो सहर अहिले पनि ब्याण्डका गितारवादक निरज गुरुङको थलो हो ।’

ब्याण्डको संघर्षकालीन क्षणमा समेत यस सहरमा कन्सर्ट गर्दाका टन्नै अनुभवहरु बोकेको नेपथ्यले यसपाला भने पहिलोपटक खुला आकासमुनी विशाल चौरमा प्रस्तुत गरेको थियो ।