बाल हेल्पलाइनमा २ सय ३९ घटना: ४२ हराए, ३७ जना फेला

0
Shares

हेटौंडा । बाल हेल्पलाइनमा सन् २०१७ मा २ सय ३९ वटा घटना दर्ता भएका छन् । जसमध्ये १ सय ३ बालक र १ सय ३६ बालिका छन् । ४२ जना हराएकोमा ३७ जना फेला परेका छन् । बेवारिस फेला परेका २०, शैक्षिक सहायताका लागि ७० जना, श्रम शोषण १९ परेका उद्धार गरी जरिवाना २९ हजार, क्षतिपूर्ति १ लाख २६ हजार ८ सय भराइएको थियो ।

जिल्ला संयोजक झवीन्द्र ज्ञवालीले बालविवाह ११ वटामध्ये ८ वटा रोक्न सफल भएको, स्वास्थ्य उपचार सम्बन्धि १५, बालबालिका बेचबिखन तथा ओसारपसार २७, जन्मदर्ता र नागरिकता सम्बन्धि समस्या ४, बाल दुव्र्यवहार तथा हिंसा सम्बन्धि १८ वटा रहेको बताउनुभयो । यसमध्ये बलात्कार तथा यौन शोषणको घटना ९ वटा, ९ वटा शारीरिक दण्ड सजाय सम्बन्धि छन् ।

बालबालिकाको बेवास्ता ४, बाल बिझ्याइँ २, पारिवारिक द्वन्द्व १४, आमाबाबु जेलमा रहेका ४ छन् । उमेर समूह हेर्दा १४–१६ वर्षका ९३ जना छन् । १०९८ मा प्राप्त टेलिफोन कल संख्या ३ हजार ५ सय ७८ थियो । जसमा पुरुषले गरेका १ हजार ४ सय ४८, महिलाले गरेका १ हजार ७ सय ७२ र बालबालिका स्वयम्ले गरेका ५ सय १८ छन् ।

जिल्लागतरुपमा हेर्दा २२ वटा जिल्लाका केश बाल हेल्पलाइनमा दर्ता भएका छन् । त्यसमा सबभन्दा बढी मकवानपुरका ६४ बालक र १ सय २६ बालिका गरी १ सय ९० केश दर्ता भएको बाल हेल्पलाइन जिल्ला संयोजक ज्ञवालीले जानकारी दिनुभयो ।

बाल हेल्पलाइन जिल्ला समन्वय समितिको बैठकले वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बाल कल्याण समिति अध्यक्ष चक्रबहादुर बुढाको सभाध्यक्षतामा बसेको बैठकमा समितिका २१ सदस्यको सहभागिता रहेको बाल हेल्पलाइनले जनाएको छ ।

बाल हेल्पलाइन जिल्ला समन्वय समिति र सिविन नेपालद्वारा सञ्चालित बाल हेल्पलाइन नेपाल मकवानपुरको आयोजनामा सञ्चालित समितिको बैठकमा जिल्ला समन्यव समिति उपप्रमुख भगवती पुडासैनी र हेटौंडा उपमहानगर उपप्रमुख मीना लामाको आतिथ्यता थियो ।

कार्यक्रममा मकवानपुरकी जिल्ला बाल कल्याण अधिकारी विष्णुकुमारी लामिछाने, हेटौंडा उपमहानगर प्रवन्धक भीम तिमल्सिना, नेपाल शिक्षक महासंघ अध्यक्ष जिधराज ढकाल, प्याब्सन मकवानपुर अध्यक्ष मदन दाहाललगायत सदस्यको सहभागिता थियो ।

बैठकमा सहभागी सदस्यहरुले बाल हेल्पलाइनको दीगो प्रवद्र्धनका निम्ति सबैको सहयोग, सहकार्यको निम्ति प्रतिवद्धता व्यक्त गरेका थिए । उपमेयर लामाले हेल्पलाइनको कोष व्यवस्थापनमा हेटौंडा उपमहानगरका तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।