लोपोन्मुख पञ्चेबाजालाई ब्यवसायिक बनाइने

0
Shares

रामधन राई, खोटाङ । लोक संस्कृतिको उजागार गर्ने पञ्चेबाजालाई ब्यवसायिक बनाउने उदेश्यले खोटाङमा १५ दिने पञ्चेबाजा बजाउने तालिम सञ्चालन गरिएको छ । पुस्तान्तरणसँगै लोपोन्मुख बनेको पञ्चेवाजाको संरक्षण गर्दै व्यवसायीकरणका लागि घरेलु तथा साना उद्योग बिकास समितिले १२ जना स्थानीयलाई पञ्जेबाजा बजाउने तालिम प्रदान गरेको हो ।

पञ्चेवाजालाई परिस्कृत गर्दै दलित समुदायको सम्मान एबं संस्थागत बिकासका लागि पौराणिक पञ्चेवाजा बजाउने तालिम सञ्चालन गरिएको घरेलु तथा साना उद्योग बिकास समितिका प्रमुख लोकनाथ खतिवडाको भनाई छ । हरेक शुभकार्यमा बजाइने पञ्चेवाजा पछिल्लो समय लोप हुँदै गएकाले पञ्चेवाजा बजाउने तालिम सञ्चालन गरिएको जनाईएको छ ।

नयाँ पुस्ताले पञ्चेवाजा बजाउन छाडेकाले पञ्चेवाजा लोपोन्मुख बनेको रुपाकोट मझुवागढी नगरपालिका दिक्तेलका तेजबहादुर परियारले बताउनुभयो । बाजेबराजुको पालादेखि आफुले पञ्चेबाजा बजाउँदै आए पनि अहिलेका भाईभतिजाले पञ्चेवाजा बजाउँदा साना होइन्छ भन्ने ठान्नाले यो लोपोन्मुख बनेको परियारको भनाई छ ।

पञ्चेवाजा बजाउने तालिम लिएका समुहलाई एक सेट पञ्चेबाजा प्रदान गरिएको छ । बिभिन्न उत्सव, पर्व र शुभकार्यमा व्यवसायिक रुपमा पञ्चेबाजा बजाउनका लागि समेत तालिम दिइएको घरेलु तथा साना उद्योग बिकास समितिले जनाएको छ । पञ्चेबाजा बजाउने सहभागीलाई जिल्ला समन्वय समितिका प्रमुख बबी चामलीङ र रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले प्रमाण–पत्र प्रदान गरेका छन् ।