डोटीमा स्वास्थ्य संस्थामा सुत्केरी गराउने बढे

0
Shares

विमल विष्ट, डोटी । घरमै सुत्केरी हुने पुरानो परम्परालाई छोड्दै डोटीको ग्रामीण भेगका महिला पनि सुत्केरी हुन स्वास्थ्य संस्थामा जान थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले डोटीलाई पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा गर्ने लक्ष्य लिएपछि स्वास्थ्य संस्थामा आएर सुत्केरी हुनेको संख्या बढ्दै गएको हो ।

विगत ३ वर्षको तथ्यांकलाई हेर्दा स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने महिलाको संख्या बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०७१/७२ डोटी कुल गर्भवती महिलाको ५७ प्रतिशत महिला स्वास्थ्य संस्थामा सुत्केरी भएका छन् भने आर्थिक वर्ष २०७२/७३ मा बढेर ६६ प्रतिशत पुगेको छ ।

त्यस्तै आर्थिक वर्ष २०७३÷७४ मा भने केही घटेर ६४ प्रतिशतमा झरेको छ । आर्थिक वर्ष २०७३÷७४ मा स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने महिलाको संख्या घट्नुको मुख्य कारण दोहोरो बसाइ रहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख सति विष्टले बताउनु भयो । उहाँले भन्नुभयो– ‘डोटीका अधिकांश मानिसको बसाइ तराई अर्थात् कैलालीमा रहेको पाईएको छ, ‘दोहोरो बसाइ तथा सुविधा सम्पन्न अस्पतालमा सुत्केरी गराउन बाहिर लैजाने गरेका कारण डाटा केही घटेको हुनसक्छ ।’

स्वास्थ्य चेतना बढ्दै गएकाले ग्रामीण भेगका महिला सुत्केरी हुन जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र,ईलाका स्वास्थ्य कार्यालय तथा स्वास्थ्य चौकी लगायतका स्वास्थ्य संस्थामा जाने गरेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका सूचना अधिकारी तेजबिक्रम शाहीले बताउनु भयो । उहाँले भन्नुभयो– ‘घरमा सुत्केरी हुँदा हुने जोखिम र स्वास्थ्य संस्थामा हुने फाइदा जानेपछि सुत्केरी महिला स्वास्थ्य संस्था जाने गरेका हुन् । यसका साथै डोटीका एकसय भन्दा बढी ठाउँमा सुरक्षित प्रसूति केन्द्र सञ्चालनमा रहेका छन् ।