पर्वतको दुर्लुङ्गमा एउटै खोलाका चार छहरामा छाँगाआरोहण



दुर्गाप्रसाद शर्मा, दुर्लुङ्ग (पर्वत) । साहसिक पर्यटनको हब बन्दै गएको पर्वतको कुस्मामा फेरी अर्को सहासिक खेल छाँगाआरोहण (क्यानोनिङ्ग शुरु भएको छ ।

पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङ्गस्थित महभिर खोलाका चार वटा छहरामा क्यानोनिङ्ग शुरु शुरु भएको हो ।

महभीरमा ३ वटा फरक फरक झरनामा क्यानोनिङ्ग शुरु भैसकेको छ भने एउटा छहरालाई पनि तयार पार्ने काम भैरहेको छ । १ सय १० मिटर अग्लो छहरा भने मुलुककै अग्लो क्यानोनिङ्ग स्थल भएको दाबी सञ्चालकको छ । यस बाहेक चाबेल छहरामा २६ मिटर अग्लो छ भने अर्को छहरा २० अग्लो छ ।

तीन वटा छहरा मध्ये भर्खर सिक्न चाहनेका लागि होचा र बढी आनन्द लिन चाहनेका लागि अग्लो छहरा उपयुक्त हुने सञ्चालक गोलमान गुरुङ्गले जानकारी दिए । ‘एउटै खोलामा सबै खाले पर्यटकका लागि स्पट तयार पारेका छौ’ उनले भने ‘यसलाई ब्यबसायिक रुपमा प्रचारप्रसार गरि अघि बढाउने सोचमा छौ’

अन्य स्थानमा सञ्चालित क्यानोनिङ्गमा एउटै डोरीमा झर्ने र माथि चढ्ने खालका छन तर दुर्लुङ्गको महभिरमा भने बिचमा डोरी परिर्वतन गरिन्छ । चैत्र बैषाखमा पानी कम हुने भएकाले ड्याम बाँधेर केही घण्टा सञ्चालन गर्ने योजना पनि बनाइएको गुरुङ्गले जानकारी दिए । क्यानोनिङ्ग सञ्चालनका लागि स्थानिय ३ जना युवाहरुलाई तालिम दिएर तयार पनि गरिएको छ ।

नेपालमा रहँदा पर्वतारोहण र टे«किङ्ग क्षेत्रमा कार्यरत रहेका गोलमान गुरुङ्ग, महान गुरुङ्ग लगायत बेलायत र हङ्गकङ्गमा रहेका दुर्लुङ्गका बासिन्दाले आर्थिक संकलन गरेर क्यानानिङ्ग शुरु गरेका हुन । यसलाई सामुदायिक रुपमा वातावरणमैत्री अवधारणामा सञ्चालन गरिने गुरुङ्गले बताए । दश बर्ष देखि सोच भएपनि अहिले पुरा भएको उनले बताए ।

पर्वत सदरमुकाम कुश्माबजारबाट झण्डै ७ किलोमिटरको दुरिमा अवस्थित उक्त स्थानमा गुरुङ्ग बस्तीको बाहुल्यता रहेको छ । स्थानिय चनौटेमा होमस्टे विस्तार र महभिर खोलामा क्यानोनिङ एकैपटक शुरु गरिएको दुर्लुङ्ग क्यानोनिङ्ग कम्पनीका अध्यक्ष उद्दिमबहादुर गुरुङले जानकारी दिए ।

उक्त स्थानसम्म पुग्नका लागि ग्राभेलिङ्ग सडकको व्यवस्था रहेको छ । कुश्माबजारबाट आधा घण्टामै पुग्न सकिने तथा नेपालको मुख्य पर्यटकीय शहर पोखराबाट समेत साढे २ घण्टाको दुरीमा उक्त स्थानमा पुग्न सकिने भएकाले आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षण बढ्ने गुरुङ्गको विश्वास रहेको छ । एकीकृत सामुदायिक विकास केन्द्रद्धारा संचालनमा ल्याइएकोे क्यानोनिङमा आउने आन्तरिक तथा वाह्य पर्यटकहरुलाई व्यवस्थापन, पूर्वाधार निर्माण तथा अन्य विविध तयारीहरु समेत भैरहेको छ ।

नेपालका लमजुङ, कास्की, काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट लगायत जिल्लाका २० भन्दा बढी झरनामा हाल क्यानोनिङ संचालन हुँदै आएकोमा साविक धौलागिरि अञ्चलमा पहिलोपटक सञ्चालन भएको हो । पर्वत हुँदै हिमालपारीको जिल्ला मुस्ताङ, म्याग्दी, राउण्ड अन्नपुर्ण तथा धौलागिरि जाने पर्यटकहरुलाई पनि उक्त क्यानोनिङ सम्म लैजान सकिने र एक दिन उक्त स्थानमा राखेर अर्को दिन गन्तव्यतर्फ पठाउनेगरी योजना रहेको उनले बताए ।

अहिले परिक्षणका क्रममा सहभागि आन्तरिक तथा बाह्य पर्यटक र क्यानोनिङ विज्ञहरुले समेत उक्त झरनामा प्रचुर सम्भावना रहेको बताए । लामो समय क्यानोनिङ्ग गरेकी सृजना कार्कीले अन्यत्र भन्दा यहाँ छुट्टै आनन्द आएको बताए । सोमबार भएको परिक्षणका क्रममा १५ जना भन्दा बढीले आरोहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्