विमानस्थल कालोपत्रेको काममा ढिलाई भएकोमा स्थानीय आक्रोशित

0
Shares

रामधन राई, खोटाङ । खोटाङको दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थलको धावन मार्ग कालोपत्रे गर्ने कार्यमा ढिलाई भएपछि स्थानीय आक्रोसित बनेका छन् । २०७५ असार मसान्तसम्म काम सम्पन्न गर्ने गरी २०७३ माघ देखि निर्माण कार्य सुरु भए पनि वर्ष दिन पुग्दासम्म कामले गति लिन नसकेको भन्दै त्यस क्षेत्रका स्थानीयले आक्रोस जनाएका हुन् ।

दुई वर्षभित्रमा पूर्णरूपमा सञ्चालनमा ल्याउनेगरी निर्माण कार्य अघि बढाइए पनि ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण हालसम्म ३५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । विमानस्थलमा हाल जम्मा १५ जना कामदारले काम गरिरहेको ठेकेदार कम्पनी रौता कन्ट्रक्सनले जनाएको छ ।

अब पनि विमानस्थलको काम तिव्र नबने नागरिक उड्ययन प्राधिकरणको कार्यालयमा धर्ना दिन बाध्य बन्ने स्थानिय कुमार पराजुलीले बताउनुभयो । रौता कन्ट्रक्सनले नेपाल नागरिक उड्ययन प्राधिकरणको नौ करोड ३८ लाख ६८ हजार ७ सय रुपैयाँ आर्थिक लगानीमा धावन मार्ग कालोपत्रेको काम शुरु गरेको हो ।

विमानस्थलको कच्ची धावन मार्गलाई कालोपत्रेका लागि काम शुरु गरिएपछि विगत नौ महिनादेखी उक्त बिमानस्थलमा हवाई सेवा सञ्चालन हुन सकेको छैन । नागरिक उड्ययन प्राधिकरणमा ठेकेदार समेतलाई बोलाएर विमानस्थल शिघ्र सञ्चालन गर्नमा जोडदार रुपमा दवाव दिने प्रतिनिधिसभा सदस्य सांसद विशाल भट्टराईले बताउनुभयो ।

विमानस्थल कालोपत्रे भएपछि भने दक्षिणी क्षेत्रका स्थानीय तथा छिमेकी जिल्ला भोजपुरका सर्वसाधारणले समेत सेवा पाउने छन् ।