दाहाल-सिंहबीचकाे भेटमा के कुराकानी भयाे ?

0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहबीच वाम एकता बारेमा छलफल भएकाे छ । दुर्इ नेताबीच  वर्तमान  राजनीतिक अवस्था र अहिले भइरहेकाे नेकपा एमाले र माअाेवादी एकतासँगै त्यसमा अन्य कम्युनिष्ट पार्टीलार्इ पनि समेट्ने र राष्ट्रिय तथा आर्थिक एजेण्डामा समान धारणा बनाएर जाने विषयमा  कुराकानी भएकाे छ  ।

महामन्त्री सिंह अध्यक्ष दाहालका राजनीतिक गुरु एवं नेपालको कम्युनिस्ट आन्दोलनका सम्मानित व्यक्तित्व हुन् । भेटका क्रममा उनीहरुबीच वाम गठबन्धनलाई कायम राखेर त्यसलाई अझ विस्तार गरेर अगाडि बढ्नेबारे कुराकानी भएको अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

भेटमा नेता सिंहले वामपन्थी मिलेर अघि बढ्दा मात्रै मुलूकमा राजनीतिक स्थिरता र विकास सुनिश्चित हुने कुरामा जोड दिएका थिए । भेटका क्रममा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वामपन्थी मिल्दा राम्रो नतिजा आएको र देशमा सकारात्मक सन्देश गएको बताउँदै राष्ट्रियसभा निर्वाचनमा पनि एमाले, माओवादी केन्द्र र मसालबीचको चुनावी तालमेललाई कायमै राखिने बताएका थिए ।

भेटमा दुवै नेता राष्ट्रियसभा निर्वाचनमा साझा उम्मेदवार खडा गर्दै वामपन्थी एकता र तालमेललाई बलियो बनाएर अगाडि बढ्न सहमत भएका थिए ।