राजधानीका भित्री शहरमा पार्किङ निषेध

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं
काठमाडौं महानगरपालिकाले भित्री क्षेत्रमा चार पाङ्ग्रे सवारी साधनलाई पार्किङ निषेध गर्ने भएको छ। आउँदो माघ २ गतेदेखि लागू हुने गरी कामपाका ७ वटा वडाका १२ क्षेत्रलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरेको हो। महानगरपालिकाको पूर्ण बैठकले उक्त निर्णय गरेको छ।

अब राजधानीको कोर क्षेत्र प्रवेश गर्ने चारपाङ्ग्रे सवारी साधन खुलामञ्चमा पार्किङ गर्नुपर्ने व्यवस्था गरेको छ। शहरी सौन्दर्यलाई कायम राख्न र पर्यटकलाई नेपालको कोर सिटीका बारेमा जानकारी दिन चारपाङ्ग्रे सवारी साधनलाई बिहान ७ देखि बेलुकी ७ बजेसम्म निषेधित गरेको हो।

कामपाले इन्द्रचोकबाट केलटोल हुँदै असन, भेडासिं बाङ्गेमुढा हुँदै ठहिटी, इन्द्रचोकबाट ओटु, महाबौद्धबाट असन, भेडासिंबाट असन, ज्याठा त्यौड ज्वालगाई हुँदै असन, ठहिटीबाट असन, ज्याठा हुँदै इनाबहाल असन, भेडासिं हुँदै केलटोल, बाङ्गेमुढा हुँदै असन, लाछीबाट असन र यबहालबाट कमलाछी हुँदै असन जाने स्थानमा चारपाङ्ग्रे सवारी साधन निषेधित गरिएको छ।

कामपा–२५ का अध्यक्ष निलकाजी शाक्यले कोर क्षेत्रमा पर्ने कुमारी, अन्नपूर्ण सेतो मच्छिन्द्रनाथ, क्षेत्रपाटी, नरदेवीलगायत ऐतिहासिक सम्पदाहरूको भ्रमण गर्न सो क्षेत्रलाई निषेधित गरिएको जानकारी दिनुभयो। उहाँले व्यवस्थित बजार पर्यटकलाई सहज आगमन गर्न पाकिङ निषेधित गरिएको बताउनुभयो।

वडा अध्यक्ष र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयोजनमा ठमेल र पशुपतिनाथ क्षेत्रपछि असन र इन्द्रचोक क्षेत्रमा चारपाङ्ग्रे सवारी साधन निषेध गरिएको हो। दुई निकायले कात्तिक ५ गते ठमेल र एक साताअघिबाट पशुपतिनाथ क्षेत्रमा सवारी निषेध गरेको थियो। वडा अध्यक्ष शाक्यले तत्काल व्यवस्थित पार्किङ नहुन्जेलसम्मका लागि विष्णुमति लिंकरोड र टुँडिखेलका पार्किङ गर्न आग्रह गर्नुभयो। कामपाले ठहिटी–नघल–बाङगेमुढा–भेडासिं र इन्द्रचोक–टेंगल–न्योखा–बाङ्गेमुढा–भेडा सिं हुँदै इन्द्रचोक र नरदेवी–किलागल–भेडासिं हुँदै इन्द्रचोक क्षेत्रमा एकतर्फी आगमन गर्ने व्यवस्था गरेको छ।

कामपाका उपमेयर हरिप्रभा खड्गीले सबैले हातेमालो गरी अघि बढे कामपाको योजना सफल हुने जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘तपाईंहरू सबैले सहयोग गरे कामपाले अघि बढाएको जस्तोसुकै योजना सफल हुनेछ।’

महानगरीय प्रहरी वृत्त जनसेवाका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक विदुरकुमार थापाले लामो समयको अध्ययनपछि कोर क्षेत्रलाई सवारी निषेध घोषणा गरेको बताउनुभयो। उहाँले सो क्षेत्रमा तोकिएको समयबाहेक अन्य समयमा सवारी साधन सञ्चालन गरे कारबाही गरिने चेतावनी दिनुभयो। ट्राफिक प्रहरी महाशाखा र कामपाले करिब ३ महिना लामो अध्ययनपछि सो क्षेत्रमा पार्किङ निषेध गरेको हो।

कामपाले आज बिहीबारबाट पार्किङ क्षेत्र निषेधको जानकारी गराउन प्रचारप्रसार गर्ने भएको छ। कामपाले भित्री शहरलाई व्यवस्थित गर्न चारपाङ्ग्रे सवारी पार्किङ निषेध गरेको हो।