डा. केसी साधारण तारेखमा रिहा



प्रशान्त वली, काठमाडौं
सर्वोच्च अदालतले डा. गोविन्द केसीलाई साधारण तारेखमा छोड्ने आदेश दिएको छ। न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले डा. केसीलाई बुधबार बेलुकी साधारण तारेखमा छोडेको हो।

इजलासले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपि, उमेर विवादमा न्यायपरिषद्ले गरेको निर्णय र शैक्षिक प्रमाणपत्रको प्रतिलिपि झिकाउन आदेश दिएको छ। अदालतको अवहेलना मुद्दामा डा. केसी सोमबार अनशनस्थल शिक्षण अस्पताल महाराजगन्जबाट पक्राउ पर्नुभएको थियो।

सर्वोच्च अदालतले प्राडा शशी शर्मालाई त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको डीनमा पुनर्बहाली गर्न आदेश दिएपछि डा. केसी असन्तुष्ट हुनुहुन्छ। डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबारदेखि आमरण अनशनलाई निरन्तरता दिनुभएको छ। प्रहरी हिरासतबाट रिहा भएपछि डा. केसीले सर्वोच्चको आदेश स्वागतयोग्य रहेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘मैले आदेशलाई सकारात्मक रूपमा लिएको छु। सत्याग्रहलाई निरन्तरता दिने या नदिनेबारे आज निर्णय हुन्छ। यद्यपि सत्याग्रह तोडिएको छैन।’

बुधबार डा. केसीको पक्षमा अधिवक्ता ओमप्रकाश अर्यालसहित १५ जना र प्रधानन्यायाधीशको पक्षमा पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठसहित ८ जनाले बहस गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्