नर्समाथि यस्तो शोषण

0
Shares

रोशन पराजुली, हेटौंडा । नेपाल नर्सिङ संघको केन्द्रीय आह्वानमा मकवानपुरमा आन्दोलन सुरु भएको छ । मकवानपुरका सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत् नर्सहरुले विभिन्न मागमा सहमति जनाए पनि सरकारले पूरा नगरेको भन्दै आन्दोलन सुरु गरेका हुन् । हाल देशभर ७४ हजार नर्स विभिन्न अस्पतालमा कार्यरत् रहेको संघले जनाएको छ ।

मकवानपुरका स्वास्थ्य संस्थामा कार्यरत् नर्सहरुले हातमा कालोपट्टी बाँधेर विरोध जनाएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरमा कार्यरत् नर्स मिलन घिमिरेले बताउनुभयो । नर्सहरुमाथि विभिन्न शोषण भएको भन्दै नर्सहरु आन्दोलनमा उत्रिएका हुन् । मानवअंग प्रत्यारोपण केन्द्रका नर्सहरुमाथि भएको शोषण तथा अनियमितताका विषयलाई लिएर आन्दोलनमा उत्रिन बाध्य भएको नेपाल नर्सिङ संघले जनाएको छ ।

आन्दोलनको पहिलो चरणमा नर्सहरुले कालोपट्टी बाँधेर विरोध गर्ने र अन्य आन्दोलन जारी राख्ने संघले जनाएको छ । संघले नर्सहरुमाथिको शोषण र नर्सहरुमाथि हुने शोषणविरुद्ध ११ सूत्रीय माग अघि सारेको छ । माग पूरा नभएसम्म देशभर आन्दोलन जारी राख्ने सघंले जनाएको छ ।

साउनदेखि मानवअंग प्रत्यारोपण केन्द्रले अनेक बहानामा बर्खास्त गरेका नर्सहरुको ससम्मान पुनर्वहाली गर्न वार्तामा केन्द्रका पदाधिकारीले मौखिक सम्झौतामात्र गर्ने तथा पीडितलाई न्याय दिनुको सट्टा उल्टै धम्की दिने गरेको संघले जनाएको छ ।

संघले मानवअंग प्रत्यारोपण केन्द्रबाट निष्कासनमा परेका नर्सिङ कर्मचारीको पुनर्बहाली गर्नुपर्ने, अधिकारसहित नर्सिङ सेवा महाशाखा पुनस्र्थापना हुनुपर्ने, गुणस्तरीय स्वास्थ्य सेवाका लागि नर्स–बिरामीको अनुपात लागु गर्नुपर्ने, सरकारका नर्ससरह निजीका नर्सहरुको स्तरअनुसार तलब तथा अन्य सुविधाको व्यवस्था हुनुपर्नेलगायत माग छन् ।