स्थानीय राजपत्र प्रकाशन गर्दै महानगरपालिका



ईश्वरराज ढकाल, काठमाडौं
काठमाडौं महानगरपालिकाले स्थानीय राजपत्र प्रकाशन कार्यविधि स्वीकृत गरेको छ। नगरकार्यपालिकाको सोमबारको नगरसभाले कार्यविधि पारित गरेको छ।

कार्यविधि पारित गरेसँगै कामपाले केही दिनभित्र स्थानीय राजपत्र प्रकाशित गर्ने भएको छ। कामपाले कार्यविधि प्रकाशित गर्ने विषय र राजपत्रको नमुना तयार गरिसकेको छ। राजपत्रमा ३ भागको हुनेछ। पहिलो राजपत्रको नाम कामपा स्थानीय प्रकाशन कार्यविधि हुनेछ भने पहिलो अंक प्रकाशित गरेपछि यसको नाम स्थानीय राजपत्र हुनेछ। राजपत्रको पहिलो भागमा नगरसभाबाट पारित भएका ऐन बजेट, नीति तथा नियमावली, मापदण्ड कार्यविधि समावेश गरिने भएको छ।

स्थानीय राजपत्रमा त्यस्तै प्रकृतिका अन्य दस्तावेजहरू तथा नगर कार्यपालिकाबाट स्वीकृत नियमावली, कार्यविधि, निर्देशिका मापदण्ड एवम् अन्य नीतिगत प्रबन्ध र निर्णयहरू समावेश गरिनेछ। भाग २ मा कार्यालयका महत्त्वपूर्ण सूचना, विज्ञप्ति र अधिकार प्रत्यायोजनसम्बन्धी विषयहरू लेखिएको हुनेछ।

भाग ३ मा कामपाको पदपूर्तिसम्बन्धी सूचनाहरू, अधिकृत स्तरका कर्मचारीहरूको नियुक्ति, सरुवा बढुवा र त्यस्तै प्रकृतिका नियुक्तिसम्बन्धी विवरण समावेश गरिने भएको छ।

बैठकले कार्यविधि स्वीकृत गरेकाले पहिलो स्थानीय राजपत्र प्रकाशन गर्नेछौं –कामपाका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले जानकारी दिनुभयो। स्थानीय राजपत्र प्रशासन गर्नुपूर्व कामपाका प्रमुखबाट कानुन प्रमाणीकरण भएको हुनुपर्ने, प्रमुख प्रशासकीय अधिकृतबाट निर्णय प्रमाणित भएको हुनुपर्ने, प्रमुख प्रशासकीय अधिकृतबाट प्रकाशित हुने व्यहोरा कागजात प्रकाशन गर्ने भनी निर्णयका साथमा त्यसको लिखित प्रकाशन गर्नु भनी लेखिपठाउनुपर्नेछ। स्थानीय राजपत्रमा विवादरहित विषय समावेश भएको हुनुपर्नेछ।

‘पहिलो स्थानीय राजपत्रमा कामपाका जनप्रतिनिधि निर्वाचित भएदेखि गरेका सम्पूर्ण निर्णय समावेश गराउनेछौं। बल्ल कार्यविधि पास भएको छ, केही दिनभित्रै हालसम्म भएका सबै महत्त्वपूर्ण निर्णयहरू समेटेर स्थानीय राजपत्र प्रकाशित गर्नेछौं’ –प्रुमख प्रसासकीय अधिकृत शर्माले भन्नुभयो। कामपाले प्रकाशित गरेको स्थानीय राजपत्र कामपाअन्तर्गतका सबै विषयगत शाखामा पठाइनेछ भने प्रत्येक २ प्रति अभिलेख प्रयोजनका लागि कानुन हेर्ने विषयगत शाखाका पेश गर्ने उल्लेख गरिएको छ।

स्थानीय राजपत्रमा नेपाल सरकारको निशान छाप अंकित भएको स्वरूप, देवनागरिक र रञ्जना लिपी भएको महानगरको नाम अंकित भएको श्यामश्वेत अक्षरमा हुने उल्लेख गरिएको छ। अब महानगर कार्यपालिकाको हरेक बैठकको निर्णय स्थानीय राजप्रत्रमा प्रकाशित भएपछि बल्ल मान्यता पाउने कामपाले जनाएको छ।

सोमबारको बैठकले कामपाको प्रवक्ता तोक्ने निर्णय गरेको छ। नगर कार्यपालिकाको सदस्यमध्ये १ जनालाई प्रवक्ता तोक्ने व्यवस्था छ। बैठकले महानगरका केही कार्यविधिसमेत स्वीकृत गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्