एकताको निर्णय अध्यक्ष ओली फर्केपछि



नेपाल समाचारपत्र
काठमाडौं
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच कार्यदल गठन गरेरै पार्टी एकता प्रक्रिया अगाडि बढाउने सहमति भएको छ। एकता समायोजक समितिको मंगलबार बसेको बैठकले पार्टी एकता नै अहिलेको एकमात्र विकल्प भएको निष्कर्ष निकाल्दै एकीकरणको सैद्धान्तिक, वैचारिक, संगठनात्मकलगायतका विषय पार लगाउन कार्यदलै गठन गरी गृहकार्य थाल्ने सहमति गरेको हो।

सो समितिको बैठक बस्नुअघि एमाले र माओवादी केन्द्रले आ–आफ्नो पार्टीमा आन्तरिक छलफल गरी एकताको मोडालिटीबारे पनि बहस गरेका थिए। केन्द्रेखि जिल्लासम्म पार्टी एकताको सकारात्मक सन्देश प्रवाह भएको निष्कर्ष निकाल्दै उक्त बैठकमा दुवै दलका नेताबीच पद बाँडफाँडलाई प्रतिष्ठाको विषय नबनाई सम्मानजनक ढंगले एकता गर्नुपर्ने विषयमा मोटामोटी सहमति भएको छ। मंगलबारको बैठकमा एकताका लागि वैचारिक र सांगठानिक कार्यदल गठन गर्ने कार्यसूची रहे पनि टुंगो लाग्न नसकेकाले थप गृहकार्य गरी अर्को बैठकमा सो कार्यदल गठनको घोषणा गर्ने समझदारी भएको छ।

यसै बैठकले माघ २४ मा हुने राष्ट्रियसभा निर्वाचन र प्रदेशसभा गठन तथा प्रदेश सरकार निर्माणका लागि समेत कार्यदल बनाएको छ। जुन कार्यदलमा एमाले नेता सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे तथा माओवादी केन्द्रबाट रामबहादुर थापा ‘बादल’, वर्षमान पुन र मातृका यादव रहनुभएको छ।

बैठकपछि पत्रकारसँग कुरा गर्ने क्रममा एमालेका उपाध्यक्ष वामदेव गौतमले एकतामा कुनै शंका नगर्न आग्रह गर्नुभयो। बैठकमा अत्यन्तै गम्भीरताका साथ छलफल भएको र यसबारे कुनै विवाद नरहेको दाबी गर्दै उहाँले भन्नुभयो– ‘एकताबारे कुनै प्रश्नै नगर्नुस्, नकारात्मक ढंगले सोच्न आवश्यकता पनि छैन, एकता हुन्छ हुन्छ।’

एमालेका अध्यक्ष केपी शर्मा ओली ७ दिनपछि बैंककबाट फर्केलगत्तै सो समितिको बैठक बसी एकताबारे अझ विस्तृत र निर्णायक छलफल हुने बताइएको छ।

माओवादी केन्द्रका नेता बादलले पनि एकताबारे दुवै पार्टीमा विवाद नरहेको दाबी गर्दै भन्नुभयो– ‘यसमा आशंका पाल्न जरुरी छैन, एकता हुन्छ। आज पनि यो प्रक्रियालाई अगाडि बढाउने सहमति भएको छ।’
बैठकमा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, नेता रामबहादुर थापाको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्