अदालतप्रति घृणा फैलाएको छैनः डा. केसी, आज फैसला हुने



प्रशान्त वली, काठमाडौं
सर्वोच्च अदालतले बहसका लागि डा. गोविन्द केसीलाई बुधबार बोलाएको छ। डा. केसीले मंगलबार लिखितरूपमा बयान दिनुभए पनि बहस हुन नसकेपछि उहाँलाई हिरासतमै राखी बुधबारदेखि बहसका लागि बोलाइएको हो। अदालत स्रोतका अनुसार अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्चले मंगलबार डा. केसीलाई १४ प्रश्नको जवाफ सोधेको थियो। त्यस क्रममा उहाँले व्यक्तिको गलत प्रवृत्तिको विरोध गरे पनि अदालतलाई घृणा हुने अभिव्यक्ति नदिएको दाबी गर्नुभएको थियो।

डा. केसीले बयानका क्रममा आफूले नभई प्रधानन्यायाधीश गोपाल पराजुलीले नै अदालतको अवहेलना गरेको भन्दै दुई ठाउँबाट नागरिकता लिएको, उमेर सच्याएको, एसएलसी पासबारे विवाद भएकोलगायतका ११ बँुदे आरोप लगाई छानविन गर्न माग गर्नुभएको थियो। उहाँविरुद्ध परेको अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइका लागि मंगलबार सर्वाेच्चका न्यायाधीद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासमा पेसी तोकिएको थियो।

बुधबार हुने बहसमा केसीको पक्षमा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल, बाबुराम गिरीलगायत र विपक्षमा पूर्वमहान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ, अधिवक्ता उपेन्द्रकेशरी न्यौपाने, श्याम खरेल, लक्ष्मण थपलिया र दीपक विष्टले बहस गर्नुहुनेछ।

सर्वोच्च अदालतका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले डा. केसीलाई गृह मन्त्रालयमार्फत अदालतमा उपस्थित गराउन सोमबार आदेश दिएपछि उहाँलाई सोमबारै पक्राउ गरी सिंहदरबार प्रहरी वृत्तमा राखिएको थियो।

सर्वोच्चका प्रवक्ता नारायण पन्थीका अनुसार बयानपछि सिंहदरबार वृत्त लैजाने क्रममा डा. केसीले छाती दुखेको बताएपछि उहाँलाई वीर अस्पताल लगिएको छ। उक्त इजलासले डा. केसीको स्वास्थ्यको पनि ख्याल गर्न आदेश दिएको छ। सर्वोच्च अदालतले प्राडा शशी शर्मालाई त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा पुनर्बहाली गर्न आदेश दिएपछि डा. केसी असन्तुष्ट हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्