सितलहर प्रभावित तराईका २२ जिल्लामा राहत घोषणा



काठमाडौं (नेस) । सरकारले तराईका २२ जिल्लामा केही दिनदेखि बढेको चिसोको मारमा परेका सर्वसाधरणलाई २ करोड २२ लाख रुपैया बराबरको राहत वितरण गर्ने निर्णय गरेको छ ।
सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृह मन्त्रालयले उक्त निर्णय गरेको हो । गृह मन्त्रालयले तराईका २२ जिल्लामा एउटा जिल्लामा १० लाख रुपैयाको कम्मल, दाउरा लगायतका न्यायनो सामाग्री वितरण गर्ने निर्णय गरेको हो । गृहले आजै सरकारको मौजदातमा रहेका कम्मल लगायतका समाग्रीहरु पनि तत्काल तराईका २२ जिल्लामा पठाउने तयारी गरेको छ ।

‘प्रधानमन्त्रीको निर्देशमन तराईमा २२ जिल्लामा तत्काल २ करोड २२ लाख रुपैया बराबरको राहत वितरण गर्ने निर्णय भएको छ’ गृह सचिव मोहोनकृष्ण सापकोटाले भन्नुभयो, ‘राहत वितरणको कार्य आजैदेखि सुरु हुन्छ, केन्द्रबाट कम्मल लगायतका सामाग्री जाने क्रम सुरु भैसकेको छ ।’
गृहले जिल्लास्थित स्थानीय विपत व्यवस्थापन समितिको सिफारीसमा उक्त राहत वितरण गर्ने निर्देशन समेत गरेको छ । गृहले तत्काल केन्द्रीय दैविप्रकोप उद्दार कोषबाट उक्त रकम वितरण गर्ने भएको हो ।
गृह मन्त्रालयले काठमाडौंकास्थित मानवीय सहायता कक्ष र शशस्त्र प्रहरीको मौजदातमा रहेका न्यायानो कपडा वितरण पनि आजैबाट सुरु भएको जनाएको छ । ‘मौजदातमा रहेका न्यायानो कपडाहरु आजैदेखि जिल्ला जान सुरु भएको छ’ गृह सचिव सापकोटाले भन्नुभयो, ‘शशस्त्र प्रहरीको ट्रकबाट ढुवानी सुरु भैसकेको छ ।’
गृहले तराईमा स्कुल लगायतका सार्वजनिक भवनमा बालबालिका र बुढापाकालाई न्यायानोमा राख्न अस्थायी सेल्टर पनि खडा गर्ने सम्वन्धीत जिल्लालाई निर्देशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्