छाउगोठमा महिलाको ज्यान गयो



विमल विष्ट, डोटी । अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर –३, भैरवस्थानमा महिनावारी भएको बेला घरदेखि टाढा छाउपडी गोठमा सुतेकी २२ वर्षीया एक महिलाको ज्यान गएको छ । ७ नम्बर प्रदेश प्रहरी कार्यालय दीपायलले दिएको जानकारी अनुसार स्थानिय वीरेन्द्र बुढाकी श्रीमती गौरी बुढाको छाउपडी गोठमा एक्लै सुतिरहेको अवस्थामा राति मृत्यु भएको हो ।

मृतक बुढा तुर्माखाँदस्थित कालिकेश्वरी माविमा कक्षा ११ मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ । राती खाना खाएर सुतेकी गौरी सोमबार बिहान अबेरसम्म नउठेको र ढोका फोरेर हेर्दा मृतावस्थामा भेटिएको मृतकका ससुरा डम्बरबहादुर बुढाले जानकारी दिनुभयो ।

मृत्यु हुनु अघिल्लो दिनभर मेलामा खर काटेको र उनी बिरामी नभएको बुढाले जानकारी दिनुभयो । नेपाल प्रहरीमा जागिरे मृतकका श्रीमान् काठमाडौंबाट फर्केपछि मात्र उनको मंगलबार दाहसंस्कार गरिने परिवारले जानकारी दिएको छ ।

सेभ द चिल्ड्रेनको सहयोगमा महिला तथा बालबालिका कार्यालयले सञ्चालन गरेको छाउपडी प्रथा निवारण परियोजनाले भैरवस्थान गाविसलाई दुई वर्ष पहिले छाउपडी गोठमुक्त घोषणा गरेको छ । गत वर्षमात्रै पनि तिमिल्सेनमा डम्बरा उपाध्याय र गाज्रामा रोशनी तिरुवाको छाउपडी गोठमै सुतिरहेको अवस्थामा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्