मध्यपुर थिमी नगरपालिकाकाे बैठक तत्काल बोलाउन माग !



पुष्कर बुढाथोकी, भक्तपुर । मध्यपुर थिमी नगरपालिकाको बैठक बिगत ३ महिनादेखि बस्न नसकेको भन्दै वडा अध्यक्ष तथा कार्यपालिका सदस्यले तत्काल बैठक बोलाउन माग गरेका छन् । ७ दिनभित्र बैठक बोलाउन माग गर्दै उनीहरुले नगरप्रमुख मदनसुन्दर श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन् ।

बैठक बस्न नसक्दा नगरपालिका लगायत वडाका काम कारवाही समेतमा असर पर्न गएको र बिकास निर्माण लगायत वडा कार्यलयको दैनिक कामकाजमा समेत अन्यौल उत्पन्न भई सर्वसाधारण समेतलाई मार पर्न गएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

नगर कार्यपालिकाको बैठक बस्न नसक्दा बिकास निर्माण योजना प्रभावित भएकोमा बैठक राख्न आग्रह गर्दै कुल १७ जना मध्य १३ जना वडाध्यक्ष र कार्यपालिका सदस्यले ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापन पत्र मार्फत तत्काल बैठक राखि अहिले सम्म भएका गतिबिधि र कार्यको समिक्षा हुनुपर्ने, न्यायिक समिति र अन्य समिति गठन ,वडा कार्यालयका संगठन संरचना र वडा कार्यालयको प्रशासकीय प्रमुखको काम कर्तब्य र अधिकार सम्बन्धमा नगरको भौतिक पुर्वाधार बिकास तथा निर्माण सम्बन्धि बिनियम २०५७ को संशोधन तथा परिमार्जन सम्बन्धि मस्यौदा र उपभोक्ता समिति संचालन निर्देशिका २०७४ को मस्यौदा बारे गंभीर छलफल हुनुपर्ने माग गरिएको वडा नम्बर ३ का वडा अध्यक्ष प्रेमबहादुर कुटुले बताउनुभयो ।

ज्ञापनपत्र बुझ्दै नगरप्रमुख श्रेष्ठले पत्रको लागि धन्यवाद दिदै बिषय र समय हेरी उपयुक्त समयमा बैठक बोलाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्