शिक्षाविद् पोखरेलको निधन



काठमाडौं, (नेस)
शिक्षाविद्, प्याब्सनका पूर्वअध्यक्ष एवं भीएस निकेतनका संस्थापक डा. बाबुराम पोखरेलको आइतबार बिहान आफ्नै निवास ललितपुरको झम्सीखेलमा निधन भएको छ।

लामो समयदेखि मुटु र श्वासप्रश्वास समस्याबाट पीडित भएर घरमै आराम गरिरहनुभएका पोखरेलको निधन भएको हो। पूर्वसभासद्समेत रहनुभएका पोखरेल आइतबार बिहान सवा ६ बजेतिर बाथरुम जाँदा लडेर बेहोस हुनुभएपछि अस्पताल लैजाने क्रममा बाटोमा नै निधन भएको उहाँको पारिवारिक स्रोतले जनाकारी दिएको छ। अमेरिकामा रहेका जेठा छोरा भोलि मंगलबार काठमाडौं फर्केपछि उहाँको दाहसंस्कार गरिने बताइएको छ।

केही समयअघि सिंगापुरमा उपचार गराएर अमेरिका जानुभएका पोखरेल केही समयअघि मात्रै नेपाल फर्कनुभएको थियो। पोखरेलका २ छोरा र श्रीमती हुनुहुन्छ। ६३ वर्षीय डा. पोखरेल, हिसानको निर्देशक समितिमा हुनुहुन्थ्यो। उहाँ हिसानका पूर्ववरिष्ठ उपाध्यक्षलगायत एक दर्जनभन्दा बढी विभिन्न संघ–संस्थामा अबद्ध हुनुहुन्थ्यो। उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान ८ बजेदेखि ११ बजेसम्म आफ्नै विद्यालय भीएस निकेतन परिसरमा राखिने भएको छ।

प्रतिक्रिया दिनुहोस्