इरान प्रदर्शनको मुद्दा राष्ट्र संघमा पुर्याएकामा अमेरिकाको आलोचना

0
Shares

मस्को, (एजेन्सी)
इरानमा भइरहेको सरकार विरोधी प्रदर्शनको मुद्दामा संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाइएकामा रुसले अमेरिकाको कडा आलोचना गरेको छ।

संयुक्त राष्ट्रमा रुसका दूत वासिली नेबेनजियाले इरानलाई आफ्नो समस्या आफै सल्टाउन दिनुपर्ने र कुनै पनि देशको आन्तरिक मामिलामा संयुक्त राष्ट्र सुरक्षा परिषद्ले हस्तक्षेप गर्नुले उक्त सर्वोच्च संस्थाको उचाइलाई कम पार्ने बताए।

केही समयअगाडि मात्रै संयुक्त राष्ट्र संघमा अमेरिकी दूत निकी हेलीले इरानका प्रदर्शनकारीहरूलाई ‘बहादुर नागरिक’को उपमा दिँदै प्रशंसा गरेकी थिइन्। इरानमा भइरहेका घटनालाई विश्वले हेरिरहेको उनले बताइन्।

इरानका दूत घोलामली खुसरुले त्यसको प्रतिक्रियामा अमेरिका सुरक्षा परिषद्का स्थायी सदस्यका रूपमा प्राप्त आफ्नो शक्तिको गलत प्रयोग गरिरहेको बताए। अमेरिकाले विश्वको नजरमा आफ्नो नैतिक, राजनीतिक र कानुनी विश्वसनीयता गुमाइसकेको उनले बताए।

इरानका विदेश मन्त्री जवाद जरिफले ट्विटमा संयुक्त राष्ट्र संघले सुरक्षा परिषद् हाइज्याक गर्ने अमेरिकी प्रयासलाई विफल बनाइदिएको उल्लेख गरेका छन्।
सुरक्षा परिषद्को बैठकमा फ्रान्सले पनि इरानको मामिलामा कुनै पनि हस्तक्षेप नकारात्मक हुने बताए। फ्रान्सले इरानमा भएका प्रदर्शन चिन्ताको विषय भएको तर त्यसले अन्तर्राष्ट्रिय शान्तिलाई कुनै खतरा नभएको पनि बताए।

फ्रान्सका दूतले अन्तर्राष्ट्रिय समुदायले इरानसँग भएको परमाणु सम्झौतालाई पूर्ण रूपमा लागू गर्नमा जोड दिनुपर्ने पनि सुझाव राखे। ट्रम्प प्रशासनले इरानसँगको परमाणु सम्झौतालाई स्वीकृति दिन अस्वीकार गरिसकेको छ।