एम्बुलेन्स सञ्चालनमा आएपछि हेली चार्टर गर्नुपर्ने अवस्था हट्यो

0
Shares

रामधन राई, खोटाङ
खोटाङमा १० वटा एम्बुलेन्स सञ्चालनमा आएपछि बिरामीलाई उपचारका लागि जिल्लाबाहिर लैजान हेलि चार्टर गर्नुपर्ने अवस्थामा कमी आएको छ। जिल्लाका लागि खोटाङ सेवा समाज युकेले प्रदान गरेको ७ तथा खोटाङ सेवा समाज कतारले प्रदान गरेका १ र इन्डियन वेलफेर र रेडक्रस जिल्ला शाखाद्वारा सञ्चालन भएको एक–एक एम्बुलेन्स सञ्चालनमा आएपछि बिरामीका लागि हेलि चार्टर गर्नुपर्ने अवस्थामा कमी आएको हो।

पर्याप्त संख्यामा एम्बुलेन्स सञ्चालनमा आएपछि बिरामीलाई काठमाडौंलगायतको सुविधा सम्पन्न अस्पतालमा लैजान करिब डेढ लाख खर्च गरेर हेलिकोप्टर चार्टर गर्नुपर्ने अवस्थामा कमी आएको खोटाङ युके एम्बुलेन्स अनुगमन समितिका सचिव टंक थापाले बताउनुभयो। पछिल्लो समय ग्रामीण भेगसम्म सडकमर्मत तथा बिस्तार हुँदै गएकाले एम्बुलेन्सले प्रभावकारी ढंगबाट सेवा प्रवाह गर्न थालेको सञ्चालक सम्वद्ध व्यक्तिहरूको भनाइ छ।

यता, जिल्लामा सञ्चालित एम्बुलेन्सले फरक–फरक भाडा लिइरहेको अवस्थामा जिल्ला प्रशासन कार्यालयको समन्वयमा भाडा दरमा एक रूपता ल्याइएको छ। जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले एम्बुलेन्सको भाडामा एक रूपता ल्याउने गरी भाडा निर्धारण गरेको हो। बैठकले आउन र जाने दूरी ५ किलोमिटरसम्म भए १ हजार, आउने र जाँदाको न्यूनतम् दूरी १० किलोमिटर भए १५ सय, आउने र जाने न्यूनतम् दूरी १५ किलोमिटर भए २ हजार शुल्क लिन पाउने गरी भाडा निर्धारण गरेको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो।

यस्तै, आउँदा र जाँदाको दूरी १५ किलोमिटरभन्दा बढी जतिसुकै दूरीको भए पनि कच्ची सडकको प्रतिकिलोमिटर ६० र पक्की सडकको प्रतिकिलोमिटर ३० रूपियाँ लिन पाउने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ।