निर्वाचन आयोगको भूमिकाप्रति आशंका

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
संविधानसभाबाट जनताका प्रतिनिधिले पहिलो पटक आफ्नो लागि आफैं बनाएको नेपालको संविधान कार्यान्वयन गर्नेक्रममा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सपन्न भएर परिणाम पनि प्रष्ट भइसकेको तर निर्वाचन आयोगले औपचारिकरूपमा समानुपातिकतर्फको परिणाम सार्वजनिक नगरेकोप्रति साझा अभियानको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

देशभरिका मतदाताले मतदान गरिसकेको मत परिणाम के कति भयो भन्ने कुरा विश्वजगतले जानकारी पाइसकेको अवस्थामा निर्वाचन आयोगले विभिन्न कारण देखाई परिणाम सार्वजनिक नगर्नुलाई सामान्यरूपमा लिन नसकिने अभियानले जनाएको छ।

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गराएर जुन खालको स्याबासी पाएको थियो त्यसलाई छायाँमा पार्ने गरी परिणाम सार्वजनिक नगर्नु आशंकापूर्ण भएको उल्लेख गरिएको छ।

लामो समयदेखिको संक्रमणकालले देशमा शान्ति, विकास र समृद्धि हुन नसकेको अवस्थामा बहुमतको सरकार बन्ने सुनिश्चिता भइरहेका बेला निर्वाचन आयोगको भूमिकाले आम नागरिकमा थप आशंका उत्पन्न गरेको बताइएको छ।

निर्वाचन आयोगले जे परिणाम छ त्यसलाई औपचारिकरूपमा तत्काल सार्वजनिक गरी मुलुकलाई निकास दिने गरी जिम्मेवारी पूरा गर्न आग्रह गर्दै अभियानले समानुपातिकतर्फको परिणाम ३० दिनभित्रमा सार्वजनिक गरिसक्नुपर्ने संवैधानिक व्यवस्थालाई संवैधानिक निकाय निर्वाचन आयोगले बेवास्ता गर्न नमिल्ने उल्लेख गरिएको छ।

राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला सहभागी हुने संविधानल ेनै सुनिश्चित गरिसकेको अवस्थामा राष्ट्रिय सभामा न्यूनतम भएको महिलाको संख्या घटाउने नियत त होइन? भन्ने प्रश्नसमेत खडा भएको अभियानले उल्लेख गरेको छ।