उत्तर र दक्षिण कोरियाबीच उच्च स्तरीय वार्ता


सोल, (एजेन्सी)
उत्तर कोरियाले आगामी साता आयोजना हुने १ उच्च स्तरीय वार्ताका लागि राखिएको प्रस्ताव स्वीकार गरेको शुक्रबार दक्षिण कोरियाली अधिकारीहरूले बताएका छन्।

९ जनवरीमा तय भएको सो विशेष बैठक फेब्रुअरीमा दक्षिण कोरियामा आयोजना हुने हिउँदे ओलम्पिक्स गेम्समा उत्तर कोरियाली खेलाडीहरूलाई सहभागी गराउने बारे केन्द्रित रहने बताइएको छ। उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले यसै साता उक्त गेम्समा आफ्नो खेलाडी टोली पठाउँदा आपसी एकता प्रदर्शन गर्ने राम्रो अवसर मिल्ने बताएका थिए।

२ कोरियाबीचको यो महत्वपूर्ण बैठक सीमा क्षेत्रको पान्मुन्जोनमा आयोजना हुने आशा गरिएको छ। यो सन् २०१५ को डिसेम्बर यताको उत्तर र दक्षिण कोरियाबीचको पहिलो उच्च स्तरीय वार्ता हुनेछ। तर सो वार्तामा को–को सहभागी हुने हो भन्ने अझै खुलाइएको छैन।

यसअघि नै दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले अझैसम्म पनि प्राविधिक रुपमा युद्धरत अवस्थामा रहेको बताइने २ कोरियाबीचको चिसिएको सम्बन्ध सुधार्न हिउँदे ओलम्पिकस अत्यन्तै महत्वपूर्ण अवसर हुनसक्ने बताएका थिए। अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले अघिल्लो दिन अन्तर्राष्ट्रिय दबाबको परिणामस्वरूप २ कोरियाबीच यो सहमति भएको प्रतिक्रिया दिएका थिए।

यसैबीच चरणवद्ध रूपमा निहुँ खोज्ने, वार्ता गर्ने र आणविक हतियार कार्यक्रम पनि जारी राख्ने उत्तर कोरियाको व्यवहारमाथि निगरानी राख्ने जनाएका छन्। दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले पनि यो वार्ता हिउँदे ओलम्पिक्समाथि लक्षित रहेको जनाएको छ।